राम मन्दिर प्राणप्रतिष्ठामा गोधरा रेल आगलागीमा दिवंगतका परिवारलाई पनि निमन्त्रणा

अयोध्यामा निर्माणाधीन राम मन्दिरको प्राणप्रतिष्ठा सोमबार हुँदै छ। प्राणप्रतिष्ठामा सहभागिताका लागि गुजरातको गोधरा घटनामा ज्यान गुमाएका ५९ ‘कारसेवक’ मध्ये १९ जनाको परिवारलाई पनि निमन्त्रणा गरिएको छ। सन् २००२ मा गोधरामा कारसेवकले भरिएको रेलको कोचमा आगजनी भएको थियो। त्यसपछि गुजरातमा दंगा भड्किएको थियो।

गुजरात विश्व हिन्दु परिषद्का महासचिव अशोक रावलले निमन्त्रितहरूमा अयोध्याबाट अहमदाबाद फर्किँदै गर्दा गोधरा रेलवे स्टेसन नजिकै साबरमती एक्सप्रेस ट्रेनको दुईवटा डिब्बामा आगजनी हुँदा मारिएका कारसेवकहरूको परिवार पनि रहेको जानकारी दिए।

उनले गुजरात विश्व हिन्दु परिषद्सँग ३९ कारसेवकको नाम र सम्पर्क रहेकाम २० जनाको परिवारसँग मात्र सम्पर्क हुन सकेकाे बताए। उनका अनुसार सम्पर्क भएका दिवंगत कारसेवकका धेरै परिवार राम मन्दिरको प्राणप्रतिष्ठामा सहभागी हुने कुरा भएको छ।

प्राणप्रतिष्ठा कार्यक्रममा गोधराबाट निमन्त्रितमा अटोरिक्सा चालक हरिशभाइ डाभी पनि छन्। गोधरा घटनामा उनले आमा गुमाएका थिए। डाभी अयोध्याको कारसेवकपुरममा बस्दै आएका छन्। उनी अहमदाबादको दलित बस्तीका हुन्।

६ डिसेम्बर, १९९२ मा अयोध्यामा विवादित संरचना भत्किएपछि २७ फेब्रुअरी, २००२ मा गुजरातको गोधरामा भएको रेल आगलागीको घटना भारतको एक नराम्रो इतिहासको रूपमा दर्ज हुन पुग्यो।

उक्त घटनामा कारसेवकलाई रेलमा जिउँदै जलाइएको थियो, जसमा महिला र बालबालिका पनि थिए। त्यसपछि गुजरातको इतिहासमा सबैभन्दा भयानक साम्प्रदायिक दंगा भएको थियो।

श्रीराम जन्मभूमि तीर्थ ट्रष्टका महासचिव चम्पत रायले मन्दिर आन्दोलनमा बलिदान दिनेहरूका परिवारलाई पनि प्राणप्रतिष्ठा समारोहमा आमन्त्रित गरिने बताएका थिए। ट्रष्टले कार्यक्रममा समाजका हरेक तप्काका व्यक्तिलाई आमन्त्रण गरिएको पनि बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *