अयोध्यामा राम मन्दिरको उद्घाटन, नेपालमा पनि उस्तै उल्लास [फाेटाे फिचर]

मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पाँच सय किलोमिटर टाढा रहेको भारतको अयोध्यामा राम मन्दिरको आज उद्घाटन भइरहँदा मधेससहित नेपालभरि नै उल्लासमय वातावरण बनेको छ ।

आज भारतको अयोध्यामा निर्मित राम मन्दिरमा रामलला (रामको बालस्वरूप) को प्रतिमा प्राणप्रतिष्ठा गरिएको छ । यतिखेर जताततै चर्चाको प्रमुख विषय नै राम मन्दिरको उद्घाटन बनेको छ । अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राणप्रतिष्ठालाई लिएर मधेस प्रदेशको राजधानी भगवान् रामको ससुराली जनकपुरधामसहित मधेसका अधिकांश मठमन्दिर रङरोगन गरेर चिटिक्क बनाइएको छ भने जताततै राम र हनुमान अङ्कित झन्डा झुन्ड्याइएका छन् ।

भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाका अवसरमा जनकपुरमा जानकी सेनाले आयोजना गरेको शोभायात्रामा भक्तजनको भिड । तस्बिर : चन्द्रदेव साह/रासस

राम मन्दिरको प्राणप्रतिष्ठाका लागि जानकी मन्दिरको तर्फबाट चाँदीका धनुष वाणलगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूलसहित एक हजारभन्दा बढी भार अयोध्या पठाइसकिएको छ भने आज साँझ जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिएको छ ।

राम मन्दिरको प्राणप्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुका साथै विशेष आरती गरिएको जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र साहले जानकारी दिए । यसका साथै आज उत्सवका रूपमा मनाउन जनकपुरवासीलाई आग्रह गरिएको छ । राम मन्दिरको उद्घाटनका दिन दुवै मुलुकका लागि विशेष भएकाले दीप बाल्न तथा उत्सवमा उपस्थित हुन सबैमा आग्रह गरिएको छ ।

भारतको अयोध्यामा राम मन्दिर प्राणप्रष्ठिाको अवसरमा सुनसरी सदरमुकाम इनरूवा-१ स्थित लोकतान्त्रिक चोकमा सोमबार दीप प्रज्वलन गर्दै भक्तजन । तस्बिर : अजितकुमार झा/रासस

त्रेतायुगमै नेपाल र भारतको सांस्कृतिक सम्बन्ध जोडिएको र सोही सम्बन्धका कारण अयोध्यामा उत्सव छाएका बेला नेपाल पनि उल्लासमय बनेको हो ।

‘त्रेतायुगमा राम र सीताको वैवाहिक सम्बन्धले दुई देशलाई एकसूत्रमा बाँधेको छ, जसको उदाहरण रामललाको प्राणप्रतिष्ठाको अवसर हो,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशनदास वैष्णव भन्छन्, ‘भगवान् रामको मन्दिर अयोध्यामा पाँच सय वर्षपछि निर्माण हुनु र रामललाको प्रतिमाले प्राण प्रतिष्ठा पाउनु सबै सनातनी हिन्दु धर्मावलम्बीका लागि गौरवको कुरा हो र यस अवसरमा जति धेरै उत्सव मनाइन्छ त्यो कम नै हुन्छ ।’

भारतको अयोध्यामा राम मन्दिरको सोमबार प्राणप्रतिष्ठा भएको खुसियालीमा सोमबार चितवनको भरतपुरस्थित चौविसकोठीमा दीप प्रज्वलन गरिँदै । तस्बिर : कृष्ण आचार्य/रासस

जनकपुरधाम उपमहानगरपालिकाले पनि भगवान् रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिकाभित्र माछा, मासु, मदिरा बिक्रीवितरण नगर्न सबैमा अपिल गरेको छ ।

त्यसैगरी घरघरमा दीप बालेर खुसियाली मनाउन नगर प्रमुख मनोज साहले सबैलाई आग्रह गरेका छन् ।

भारतको अयोध्यामा राम मन्दिरको सोमबार प्राणप्रतिष्ठा भएको खुसियालीमा तनहुँको दमौलीमा दीप प्रज्वलन गरिँदै । तस्बिर : कृष्ण न्यौपाने/रासस

सयौँ वर्ष लामो प्रतीक्षापछि भगवान् रामको मन्दिर निर्माण भएको खुसियालीमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, शहीदनगर, औरहीलगायत मधेस प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले आज सार्वजनिक बिदा दिएका थिए ।

जानकी मन्दिरका साथै अन्य स्थानहरूमा दीप प्रज्वलन गरिएको र शोभायात्रा, कलशयात्रा निकालिएको छ ।

महाेत्तरीकाे सदरमुकाम जलेश्वरमा बालकलाकारहरू अनिस कपडी, अंशु कपडी र मनिष साहले भुइँमा अन्नबाट बनाएका रामसीताकाे प्रतिमा । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस
भारतको अयोध्यामा सोमबार आयोजित राम मन्दिर प्राणप्रतिष्ठाको अवसरमा विश्व हिन्दु परिषद् नेपाल, धार्मिक सङ्घसंस्था एवं समस्त हिन्दु समाज धनगढीले आयोजना गरेको कार्यक्रममा नृत्य प्रस्तुत गर्दै बालकलाकार । तस्बिर : तिलकराज ओझा/रासस
भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा साेमबार सुनसरीको इनरूवामा निकालिएको शाेभायात्रा । तस्बिर : नवीन गड्तौला/रासस
वीरगञ्ज महानगरपालिकाले सोमबार वीरगञ्जमा आयोजना गरेको कलश शोभायात्रामा भक्तजनको भिड । वीरगञ्जकाे घडियार्वामा सात दशकदेखि अतिक्रमणमा परेको जग्गालाई आतिक्रमणमुक्त गरी महानगरपालिकाले बनाएको रामजानकी मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा निकालिएको कलशयात्रामा हजारौँ भक्तजनको सहभागिता रहेको थियो । तस्बिर : विजयकुमार महतो/रासस
भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा आज भैरहवामा निकालिएको रथयात्रासहित झाँकीमा राम र सीताका प्रतीक । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस
भरतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाका अवसरमा सप्तरी युथ नेपालको आयोजनामा सप्तरीको राजविराजस्थित राज रङ्गशाला परिसरमा सोमबार ११ हजार १११ दीप प्रज्वलन गर्ने तयारी गरिँदै । तस्बिर : अरूणकुमार यादव/रासस
भरतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाका अवसरमा सप्तरी युथ नेपालको आयोजनामा सप्तरीको राजविराजस्थित राज रङ्गशाला परिसरमा सोमबार ११ हजार १११ दीप प्रज्वलन गर्ने तयारी गरिँदै । तस्बिर : अरूणकुमार यादव/रासस
भारतको अयोध्यामा हुने राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा सोमबार सुनसरीको इनरूवामा निकालिएको शोभायात्राका क्रममा ताण्डव नृत्य प्रस्तृत गर्दै कलाकार । तस्बिर : नवीन गड्तौला/रासस
भारतको अयोध्यामा हुने राम मन्दिरको प्राणप्रतिष्ठाका शुभ अवसरमा दाङको घोराहीमा सोमबार स्थानीय भक्तजनले पञ्चेबाजा सहित निकालेको शोभायात्रामा सहभागीहरू । तस्बिर : कुलदीप न्यौपाने/रासस
भारतको अयोध्यास्थित श्रीराम मन्दिरमा रामललाको मूर्तिको प्राणप्रतिष्ठा हुने शुभसाइतमा देवशिलाको उद्गमस्थल म्याग्दीको बेनी नगरपालिका-६ सेतीपहिरोमा सोमबार पूजाआजा गरिँदै । बेनी नगरपालिकाले सेतीपहिरोलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्न पहल थालेको छ । तस्बिर : सन्तोष गौतम/रासस
भारतको अयोध्यामा साेमबार भगवान् रामललाको प्राणप्रतिष्ठाको अवसरमा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नम्बर-२ स्थित दुर्गाचोकमा अन्नको प्रयोग गरेर भगवान राम-सीताको प्रतिमा बनाउँदै बाल कलाकार । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस
महोत्तरीको मटिहानीमा निर्मित आराध्यदेव श्रीराम र सीताको २५ फिट अग्लो कलात्मक मूर्ति । साेमबार यस मूर्तिको विधिवत पूजाअर्चना गरिँएकाे छ । तस्बिर सौजन्य : मो. इसराफिल राइन/रासस
भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाका शुभ अवसरमा दाङको घोराही उपमहानगरपालिका-१५, बैंकरोडस्थित रामजानकी मन्दिरबाट सोमबार बिहान भक्तजनहरूले घोराही बजारमा निकालेको शोभायात्रा । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर