आफैं सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर राहदानी वितरणको तयारीमा परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी गरेको छ। उक्त तयारीले पूर्णता पाएसँगै सेवाग्राहीले आगामी दिनमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन पर्ने झन्झट समाप्त हुनेछ।

विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण कार्यको सुरूआत गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का (रक्षा) र नारायणकाजी श्रेष्ठ (गृह) तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँगै परराष्ट्रमन्त्री एनपी साउदबीच छलफल भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको छलफलअनुसार विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण कार्यको सुरूआत भए सेवाग्रहीले अनलाइनमार्फत राहदानीका लागि आवेदन दिन पाउने र हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्नेछन्।
यस्तै विदेशमा रहेका नेपालीले राहदानी नवीकरणका लागि आफू रहेको मुलुकमा अवस्थित नेपाली राजदूतावास जानुपर्ने बाध्यतासमेत हट्ने छ।

‘प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, भौतिक योजनामन्त्री, मुख्यसचिव, सम्बन्धित मन्त्रालयका सचिवहरू बसेर सरकारका सेवाहरूलाई द्रुत बनाउनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग गर्नेबारे छलफल भएको छ,’ परराष्ट्रमन्त्री साउदका प्रेस संयोजक केशव सावदले भने, ‘यसबाट परराष्ट्रमन्त्रीज्यूले धेरै पहिलेदेखि भन्दै आउनुभएको पासपोर्ट सेवालाई पनि द्रुत बनाउन अनलाइनबाट आवेदन, हुलाकबाट पासपोर्ट डेलिभरी हुन्छ। यसका लागि अब सेवाग्रहीले राहदानी विभाग जानुपर्ने छैन। विदेशको हकमा पनि आईडी (राष्ट्रिय परिचयपत्र) बनाइसकेका वा नवीकरण गर्नुपर्ने सेवाग्राहीको हकमा राजदूतावासमा नगइकनै पासपोर्ट उपलब्ध गराइनेछ।’

बैठकपछि सम्बन्धित विभागहरूलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी थाल्न निर्देशन पनि दिइएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा राष्ट्रिय परिचयपत्र बनाउँदा सेवाग्राहीले बायोमेट्रिक्स दिँदै आएका छन्। परराष्ट्र मन्त्रालयले राहदानीका लागि उक्त परिचयपत्र अनिवार्य गरेको छ। अहिले सेवाग्राहीले पञ्जिकरण विभागमा बायोमेट्रिक्स दिए पनि राहदानीका लागि राहदानी विभागमा समेत अनिवार्य बायोमेट्रिक्सका लागि उपस्थित हुनैपर्ने बाध्यता छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर