सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमतिपत्र उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् ।

आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले १४ लाख सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन निर्देशन दिए ।

सवारी चालक अनुमतिपत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरिसक्दा पनि लाइसेन्स नपाउनु गम्भीर विषय भएको बताउँदै यातायात व्यवस्था विभागलई तत्काल लाइसेन्स उपलब्ध गराउन प्रधानमन्त्रीले सचेत गराए । प्रधानमन्त्रीले भने ‘अहिलेको समयमा सूचना प्रविधि महत्त्वपूर्ण छ । हामीले इन्टिग्रिटेड प्रविधिमा केन्द्रित भएर परिणाम दिन सक्नुपर्छ । त्यसका लागि राज्यका संयन्त्रबीच समन्वय जरूरी छ ।’

प्रधानमन्त्री आफूले सेवा प्रदायक कार्यालयमा लाग्ने गरेको लामो लाइन हटाउन प्रतिबद्धता गरेको स्मरण गर्दै एक वर्षमा देखिने गरी सुधार भए पनि पूरै सुधार नभएको बताए । उनले त्यसलाई गम्भीर रूपमा ध्यान दिन र सेवा प्रदायक कार्यालयको कार्यक्षमता बढाउन निर्देशन दिए ।

‘सोर्सकोड हाम्रो आफ्नै कहिलेदेखि हुन्छ भन्ने विषयमा सबैले गम्भीर भएर सोचौँ,’ प्रधानमन्त्रीले भने, ‘स-साना प्राविधिक समस्या सुल्झाउन पनि विदेशीहरू नै बोलाउनुपर्ने स्थिति छ । रातरात सबै कुरा परिवर्तन सकिँदैन, योजनावद्ध काम गर्दा क्रमशः बदल्न सकिन्छ ।’ यसका लागि दक्ष जनशक्ति आफै उत्पादन गर्न सकिने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *