सरकारको ट्राभल एड्भाइजरी- स्वीकृति नभएका देशको सैन्य सेवामा भर्ना भए स्वयं जिम्मेवार

सरकारले भ्रमण तथा पर्यटक भिसामा विदेश गएर कुनै देशको सैनिक सेवामा प्रवेश गरे त्यसको जिम्मेवार स्वयं व्यक्ति हुने स्पष्ट पारेको छ।

गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले मंगलवार १३ बुँदे ट्राभल एड्भाइजरी जारी गर्दै भारत र बेलायतबाहेकका देशको सेना वा सशस्त्र समूहमा भर्ना हुने कार्य पूर्ण रूपमा गैरकानुनी र राष्ट्रहितविपरीत रहेको पनि बताएको छ।

भिजिट भिसामा यात्रा गर्ने यात्रीहरूले नक्कली कागजात पेस गर्ने, झुट्ठा विवरण तयार गर्ने, भिसाको उद्देश्यविपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरूसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्नेजस्ता गतिविधिमा संलग्न भएको पाइएपछि सरकारले ट्राभल एड्भाइजरी जारी गरेको हो।

पछिल्लो समय भिजिट भिसामा रूस र युक्रेन गई त्यहाँको सेनामा नेपालीहरू भर्ना भएको पाइपछि सरकारले यस्तो बताएको हो। ट्राभल एड्भाइजरीमार्फत गृहले त्यस्ता मुलुकहरूको पूर्ण जानकारी लिएर मात्र भ्रमण गर्न पनि सुझाव दिएको छ।

यस्तै भिजिट भिसामा विदेश जाँदा समयमै स्वदेश फर्किन्छु भनेर स्वघोषणा गर्नुपर्ने पनि एड्भाइजरीमा उल्लेख छ।

‘भिजिट भिसामा गएका नेपालीहरू उल्लेखित मितिमा फर्केने गरेको नपाइएकाले असामान्य परिस्थितिबाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कनुहोला,’ एड्भाइजरीमा भनिएको छ, ‘अन्यथा यसबाट सिर्जना हुने अवस्थाका सम्बन्धमा व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्वःघोषणा गरेर मात्र प्रस्थान गर्नु हुन अनुरोध गरिन्छ।’

विदेश जानुअघि उक्त देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्न पनि अनुरोध गरिएको छ।

भिजिट भिसामा नक्कली कागजात, झुट्टा विवरणसमेत तयार पारी द्वन्द्वग्रस्त मुलुकसम्म पुगेर अलपत्र पर्ने गरेको भन्दै सरकारले सचेत रहन अनुरोध गरेको छ।

हेर्नुहाेस् ट्राभल एड्भाइजरीकाे पूर्णपाठ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर