सूर्य नेपाल इस्टर्न ओपन बुधवारदेखि धरानमा

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन बुधवारदेखि धरान गल्फ क्लबमा सुरू हुँदैछ। तीन दिनसम्म चल्ने प्रो प्रतियोगिता ५४ होलको हुनेछ।

प्रतियोगितामा ३० प्रोफेसनल र १० एमेच्योर गल्फरले भाग लिने निश्चित भएको नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन एनपीजीएका महासचिव दीपक आचार्यले बताए। मंगलवारसम्म नाम दर्ता गर्ने समय रहेकाले सहभागी संख्या बढ्न सक्नेछ। काठमाडौंबाहिर हुने दुई प्रतियोगितामध्ये सूर्य नेपाल इस्टर्न ओपनमा धरानका ५ प्रोफेसनल गल्फरको सहभागिता रहनेछ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राई घरेलु कोर्समा उपाधि रक्षा गर्ने कोसिसमा रहनेछन। यो सिजन उत्कृष्ट फर्ममा रहेका तथा सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेका उपाधि विजेता दिनेश प्रजापति पनि प्रमुख दाबेदार हुन्। यस्तै भुवन नगरकोटी,जयराम श्रेष्ठ, नीरज तामाङ, सञ्जय लामा, धन थापा पनि दाबेदार खेलाडी हुन्।

३६ होलको समाप्तिमा कट लागू हुनेछ, जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलका लागि स्थान बनाउनेछन्। योपटकदेखि एमेच्योर खेलाडीको हकमा भने प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछन।

प्रतियोगितामा नेपाली राष्ट्रिय गल्फ टिमका दुई उत्कृष्ट एमेच्योर खेलाडी सुवास तामाङ र सद्भाव आचार्यले सहभागिता जनाउने छैनन्। सुवास भारतीय गल्फ टुरको क्यू-स्कुलको तयारीमा रहँदा सद्भाव बंगलादेश ओपनमा सहभागी हुँदैछन्।

कुल ८ लाख ४० हजार रूपैयाँ नगद पुरस्कार राशि रहेको प्रतियोगिताका विजेताले १ लाख ४० हजार, दोस्रो र तेस्रो हुनेले क्रमशः ९६ हजार र ७२ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन। साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्नेछन। प्रतियोगिताको अन्तिम दिन शनिवा प्रो-एम प्रतियोगिता हुनेछ।

एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले प्रायोजक सूर्य नेपाल प्रालिलाई निरन्तरको सहयोग र साथका लागि धन्यवाद दिए। सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन्, जसमा कुल ६५ लाख रूपैयाँ नगद पुरस्कार रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर