उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरूद्ध मंगलवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

मुद्दा दर्ता हुनेमा तत्कालीन महाप्रबन्धक पौडेलसहित तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्ले छन् ।

उनीहरूले भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी) खरिद गर्दा अनियमितता गरेको आरोप छ । बिनाअध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत यकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामग्री खरिद गरेको आरोपमा उनीहरूविरूद्ध मुद्दा दर्ता भएको हो ।

साथै सामान खरिदपश्चात् गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको सामग्रीमध्ये १६० किलोवाटको भीएफडी प्यानल पार्ट-ए उदयपुर सिमेन्ट उद्योगले प्राप्त गरेको पाँच वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगराएको आरोप छ ।

१६० किलोवाटको २२ लाख ७८ हजार ३०५ रूपैयाँ ६० पैसा बराबरको रकम भुक्तानी गरी उद्योगलाई हानि पुर्‍याएको देखिएकाले मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर