सूर्य नेपाल इस्टर्न ओपन सुरू : पहिलो दिन शुक्रलाई एक स्ट्रोकको अग्रता

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राई ३-अन्डर ६७ को स्कोरमा शीर्ष स्थानमा रहेका छन्। डिफेन्डिङ च्याम्पियन शुक्रले धरानका अर्का गल्फर नीरज तामाङलाई १८ होलको समाप्तिमा १ स्ट्रोकले पछि पारे। २-अन्डर ६८ सहित नीरज तामाङ दोस्रो स्थानमा छन्।

एमेच्योरद्वय युवराज भुजेल र पदम हाङ संयुक्त रूपमा तेस्रो स्थानमा रहे। उनीहरूले १-अन्डर ६९ स्कोर गरे। पुर्व नम्बर एक गल्फर भुवन नगरकोटी इभन-पार ७० सहित पाँचौं स्थानमा र १-ओभर ७१ स्कोरमा रामे मगर छैटौं स्थानमा रहेका छन्। स्थानीय प्रो सबिन सापकोटा र देवराज पाख्रिनले २-ओभर ७२ सहित संयुक्त रूपमा सातौं स्थान बाँडे।

भेट्रान गल्फर दीपक मगर ३-ओभर ७३ सहित नवौं स्थानमा रहँदा धनबहादुर थापा र एमेच्योर गजेन्द्र गुरूङ संयुक्त रूपमा दशौं स्थानमा रहेका छन्। उनीहरूले ४-ओभर ७४ मा पहिलो दिनको खेल सकाए।

भारतीय गल्फ टुरमा २०२४ सिजनको लागि कार्ड जोगाएर फर्किएका शुक्रले आज घरेलु कोर्स धरान गल्फ क्लबमा राम्रो सुरूवात गरे। ५-पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गरे तरलगत्तै चौथो होलमा डबल बोगीको सामना गरे। यसपछि पाँचौंदेखि सातौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए।

ब्याक नाइनमा उनले लय गुमाए। १३ औं होलमा दिनको दोस्रो डबल बोगी खेपेका शुक्रले १२औं र १६औं होलमा एक-एक सट बचाए। तर १७ औं होलको बोगीले ब्याक नाइन १-ओभर ३५ मा पूरा गरे।

धरानका अर्का प्रो नीरज तामाङले पहिलो दिन दोस्रो स्थानमा खेल सकाउने क्रममा उत्कृष्ट सुरूवात गरे। तेस्रो, पाँचौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। यसपछि १४ औं र १५ औं होलमा लगातार दुई बोगी प्रहार गरे। १६ औं होलको बर्डीले ब्याक नाइन १-ओभर ३५ मा पूरा गरे।

एमेच्योर गल्फर युवराजले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाउने क्रममा तेस्रो र पाँचौं होलमा एक-एक सट बचाए। १२ औं होलमा बर्डी प्रहार गरे। तर १४ औं र १६औं होलको बोगीले ब्याक नाइन १-ओभर ३५ मा सकाए।

अर्का एमेच्योर पदमले पहिलो, छैटौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। तर चौथो होलमा डबल बोगी र पाँचौ होलमा बोगी खेप्दा फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। यसपछि १० औं र १८ औं होलमा बर्डी प्रहार गरेका पदमले १४ औं र १५ औं होलमा एक-एक सट खेर फाले।

तीनदिने ५४ होलको प्रतियोगितामा ३० प्रो र १७ एमेच्योर गल्फर गरी कुल ४७ जनाको सहभागिता रहेको छ। ३६ होलको समाप्तिमा कट लागू हुनेछ। जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन्।

योपटकदेखि एमेच्योर खेलाडीको हकमा भने प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछन्।

कुल ८ लाख ४० हजार रूपैयाँ नगद पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः ९६ हजार र ७२ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्नेछन्। प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतियोगिता हुनेछ।

पीजीए नेपालद्वारा आयोजित सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन्। जसमा कुल ६५ लाख रूपैयाँ नगद पुरस्कार रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर