मेयर बालेनले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने भएका छन् । बिहीवार भइरहेको मतदानमा मेयर शाह सहभागी नुहने उनको स्वकीय सचिवालयले जनाएको छ ।

बागमती प्रदेशसभा सदस्यका मतदाता मेयर शाहले हेटौंडामा जारी मतदानमा भाग नलिने भएका हुन् ।

२०७९ वैशाखमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरको मेयर बनेका शाहले राष्ट्रियसभा निर्वाचनमा पहिलो पटक नै मतदान नगर्ने भएका हुन् ।

नेकपा (एमाले) निर्वाचित काठमाडौं महानगरकी उपमेयरसुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगेकी छन् ।

बागमती प्रदेशमा ४ सिटका ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबाट महिलातर्फ नेपाली कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जितजंग बस्नेत उम्मेदवार छन् भने अपांगतातर्फ नेकपा (माओवादी केन्द्र) का श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल भिड्दैछन् ।

एमालेले महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपांगतातर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटालाई चुनावी मैदानमा उतारेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अन्यतर्फ हेमजंग गुरूङ, महिलातर्फ बालिका डल्लाकोटी र अपांगतार्फ भरतमणि भट्टको उम्मेदवारी छ भने नेपाल मजदुुर किसान पार्टी (नेमकिपा) ले महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ संगीता नेपाली, अपांगतातर्फ हिमालयश्वर मूल र अन्यतर्फ श्रीकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ ।

बागमती प्रदेशमा ११० प्रदेशसभा सदस्य र २३७ पालिका प्रमुख/उपप्रमुख गरी ३४७ मतदाता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *