प्रधानमन्त्री कप क्रिकेट : आर्मीको जित

जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि एक सय ६४ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको दुई सय ८० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश २९ ओभरमा सबै विकेट गुमाउँदै एक सय १५ रनमै समेटियो। कर्णालीका लागि हिमान्शु शाहीले १९, दिवान पुनले १८ तथा विपिन शाहीले १४ रन बनाए। त्यसैगरी, कप्तान रवीन्द्र शाही, निश्चल रावल र दीपेन्द्र रावतले समान १२/१२ रन जोडे।

आर्मीका लागि विवेक यादव र कुशल मल्लले समान तीन\तीन विकेट लिए भने सोमपाल कामीले दुई तथा साहब आलामले एक विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ७९ रनको योगफल तयार पारेको थियो। आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक एक सय रनको योगदान दिए। उनले एक सय ३२ बलमा ६ चौका र तीन छक्काको मद्दतमा अविजित एक सय रन जोडेका हुन्।

यसैगरी, बसिर अहमदले अविजित ९८ रन जोडे भने भीम सार्कीले २५, कुशल मल्लले २१ तथा सन्तोष कार्कीले ११ रन बनाए। कर्णालीका लागि दीपेन्द्र रावतले दुई विकेट लिए भने प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले समान एक विकेट लिए। यस जितसँगै आर्मीले सात खेलमा १० अङ्क जोडेको छ। आर्मी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। यता पराजित कर्णाली भने आठ खेलबाट ६ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर