प्रम कप क्रिकेट : गण्डकीलाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा

गण्डकी प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली बन्न सफल भएको हो। यससँगै पुलिसले सातौँ खेलमा सातौँ जित निकाल्दै दुई खेल अगाडि नै फाइनलमा स्थान पक्का गरेको छ। पुलिस १४ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ। पराजित गण्डकी भने आठ खेलमा चार अङ्क जोड्दै अङ्क तालिकाको आठौँ स्थानमा छ।

गण्डकी प्रदेशले प्रस्तुत गरेको एक सय ७१ रनको लक्ष्य पुलिसले २४ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो। पुलिसको जितमा दिलिप नाथले सर्वाधिक ५७ रनको योगदान दिए। उनले ३९ बलमा ६ चौका र चार छक्काको मद्दतले ५७ रन बनाएका हुन्। अर्जुन साउदले अविजित ४४ रन बनाउँदा आरिफ शेखले अविजित २७, कुशल भुर्तेलले २२ र शङ्कर रानाले १२ रन बनाए।

गण्डकीका लागि सन्दीप पराजुलीले दुई विकेट लिए भने कमल परियार र कप्तान विपिन खत्रीले समान एक/एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७० रनको योगफल बनाएको थियो। गण्डकीका लागि अमृत गुरुङले सर्वाधिक ५० रनको योगदान दिएका थिए। उनले ३९ बलमा आठ चौका र दुई छक्काको मद्दतले ५० रन जोडेका हुन्। यसैगरी किरण पंगेनी र कमल परियारले समान ३०\३० रन बनाए भने समिर कँडेलले २९ र कृष ऐरले १० रन बनाए।

बलिङतर्फ पुलिसका राशिद खानले पाँच विकेट लिए भने करण केसी र ललितनारायण राजवंशीले समान दुई\दुई विकेट झारे। कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर