तात्दै दरबार हत्याकाण्ड, प्रचण्डपछि माधवकुमारले पनि मुख खोले

गत सोमबार मधेस प्रदेश पुगेर माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्ड छानबिन हुने उद्‍घोष गरेका थिए। उनको उक्त उद्‍घोषपछि केही राजनीतिक दलका शीर्ष नेताहरू तरङ्गित बन्न पुगेका छन्।

सोही विषयमा मधेस प्रदेश पुगेर नै सत्ता गठबन्धनको एक घटक एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

बिहीबार जनकपुरमा समाजवादी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त टिप्पणी गरेका हुन्।

राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्ने विषय प्रधानमन्त्री प्रचण्डले विचार नपुर्‍याई भनेको उनले उल्लेख गरे। गम्भीर विषयमा बोल्दा गठबन्धनमा सहभागी दलहरू र आफूलाई सोधेको भए उचित हुने उनको घारणा थियो।

अध्यक्ष नेपालको भनाई :
‘जहाँसम्म दरबार हत्याकाण्डको कुरा छ, त्यतिखेर मेरो नाम आएको थियो। तपाईंहरूले बिर्सिनुभएको छैन होला। मैले के राखेको थिएँ भन्दा– म भनेको कम्युनिस्ट पार्टीको नेता हो। म प्रतिपक्ष दलको नेता हो भने सत्तापक्षको नेता पनि त्यो आयोगमा बस्नुपर्छ। गिरिजाबाबु बस्ने हो भने म पनि बस्छु। होइन भने दोष हामीलाई आउने अनि नेपाली कांग्रेस जोगिने त्यो बेलाको स्थिति बन्थ्यो। त्यसैले मैले अरूले बसेर हुँदैन, राजनीतिक नेतालाई राख्ने हो, होइन भने राख्नै छ भने हाम्रो पार्टीबाट भरतमोहन अधिकारीलाई राख्नुस्, उहाँ कानुनको ज्ञाता पनि हो भनेर मैले प्रस्ताव राखेको थिएँ। त्यो कुरा सुन्नमा आएको थिएन। तर, यो पनि सत्य हो, त्यो आयोग बनाउन मेरो नै भूमिका हो। त्यो बेलाको तत्कालीन राजा ज्ञानेन्द्र मानिरहेका थिएनन्। उनी राजा त भइसकेका थिएनन्, उनले भनिरहेका थिए– म आफैँ गर्छु। छानबिन भनेका थिए। तपाईंको छानबिन कोही मान्नेवाला छैनन् भन्ने मान्छे मै हुँ। छानबिन आयोग बनाउन त बनाए, मलाई पनि जोडिदिए। राजा वीरेन्द्रको अन्तिम संस्कार भइरहेको बेलामा आर्यघाटमा म थिएँ। सभामुख तारानाथ रानाभाट, प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको छानबिन आयोगले छानबिन गर्‍यो। कति सबै ल्याउन सक्यो, सकेन आफ्नो ठाउँमा छ। अहिले प्रधानमन्त्रीजीले फेरि छानबिन गर्ने कुरा गर्नुभयो। यस्ता कुराका बारेमा अलि सरसल्लाह गरेको भए राम्रो हुन्थ्यो। हामीसँग पनि सल्लाह भएको छैन। मैसँग पनि सोधे त हुन्थ्यो नि ! कमसेकम गिरिजाबाबुले त मलाई सोध्ने गर्नुहुन्थ्यो, के गर्ने माधव बाबु भन्नुहुन्थ्यो। हाम्रो प्रचण्डजी छिटो बोलिहाल्नुहुन्छ। वंश सकिएकाले गर्छन्, बाँकी हुनेले गर्छन् भन्ने अर्थ लाग्छ। तीर त्यतै सोझिन्छ। ओलीजी अलि पछि गृहमन्त्री भई प्रधानमन्त्री पनि भएकाले उहाँले धेरै सूचना पाउनुभएको छ कि, उहाँलाई सोध्नुपर्ला।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *