प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटः आर्मी फाइनलमा, लिगमा पुलिस अपराजित

त्रिभुवन आर्मी क्लवले बिहीवार गण्डकी प्रदेशलाई हराउँदै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

लिगको अन्तिम खेलमा आर्मीले कीर्तिपुरमा गण्डकीलाई ६४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । अब आर्मीले फाइनलमा नेपाल पुलिस क्लवसँग प्रतिष्पर्धा गर्नेछ ।

समान ९ खेलमा पुलिस १८ अंक र आर्मी १४ अंकसहित शीर्ष दुईमा रहेर फाइनलको यात्रा तय गरेका हुन् । यद्यपि सात खेलसम्म अपराजित रहँदै पुलिस दुई खेल अगावै फाइनलमा पुगेको थियो । बिहीवार पुलिसले पनि सुदूरपश्चिम प्रदेशमाथि ७८ रनको जितसँगै अपराजित रहँदै लिगको यात्रा टुङ्गायो ।

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा आर्मीले दिएको एक सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी २३।४ ओभरमा ६४ रनमै समेटियो । आर्मीको बलिङसामु गण्डकी पनि चल्नै सकेनन् । ओपनर ईश्वर क्षेत्रीले १६ रन र करण पंगेनीले १५ रनबाहेक कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आर्मीका बलर शाहब आलमले चार विकेट लिए । उनले सात ओभरमा दुई मेडन राख्दा १७ रन मात्र खर्चिए । जितेन्द्र मुखिया र कुशल मल्लले समान दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीको पनि प्रदर्शन सुखद् रहेन र ३९।१ ओभरमा १३२ रनमै अलआउट भयो ।

आर्मीका ओपनर इमरान शेखको ३४ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो । तल्लो क्रमका सोमपाल कामीले २३ रन, कप्तान विनोद भण्डारीले १९ रन, कुशल मल्लले १५ रन जोड्दा साहब १२ रनमा नटआउट रहे । गण्डकीको बलिङमा विपिन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले समान दुई विकेट लिए । सन्दीप पराजुली र रोशन गौतमको नाममा समान एक विकेट रह्यो ।

मुलपानी क्रिकेट मैदानमा पुलिसले दिएको एक सय ९८ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ३७।१ ओभरमा १२० रनमै अलआउट भयो ।

सुदूरपश्चिमका गजेन्द्र बोहराले ३० रनको योगदान दिँदा किरण ठगुन्नाले २४ रन बनाए । नरेन साउद २४ रनमा नटआउट रहे । त्यसबाहेक अन्य ब्याटर चल्नै सकेनन् । पुलिसको बलिङमा दीपेन्द्रसिंह ऐरीले सात विकेट लिँदै सुदूरपश्चिमको इनिङ धराशायी बनाए । उनले १० ओभरमा चार मेडन राख्दै २० रन मात्र दिए । ललितनारायण राजवंशी, ललित भण्डारी र सागर ढकालको नाममा समान एक विकेट रह्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७।५ ओभरमा १९८ रनमै अलआउट भयो ।

दीपेन्द्रसिंह ऐरीले ४४ रन र शंकर रानाले ४६ रनको योगदान लिए । अर्जुन साउदले ३२ रन र आरिफ शेखले २६ रन जोडे । अन्य ब्याटर चल्न नसक्दा पुलिस पनि सस्तैमा समेटियो । सुदूरपश्चिमका बलर शेर मल्लले तीन विकेट लिँदा मिलन बोहरा, विकास आग्री र नारायण जोशीले समान दुई विकेट निकाले । दीपक चन्दको नाममा एक विकेट रह्यो । यससँगे जारी प्रतियोगितामा लिग चरणका खेल समाप्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर