सुरक्षाकर्मी र कैदीको कुटपिटबाट मारिएका पीडित परिवारले पाएनन् राहत

गत साउन २४ गते सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट मारिएका पीडितका परिवारले अहिलेसम्म पनि राहत पाएका छैनन्।

जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का ३० वर्षीय प्रकाश तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो। कारागारबाट भाग्न खोजेको आरोपमा दुई जना कैदीलाई नियन्त्रणमा लिएर सुरूमा प्रहरीले कुटपिट गरेका र कारागारभित्र बुझाएपछि त्यहाँका कैदीलेसमेत कुटपिट गरेर यातना दिएको प्रमाणित भएको थियो।

घटनालगत्तै जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा बसेको पीडित पक्ष र सरोकारवालाबीचको छलफलमा पीडित परिवारले राहत तथा क्षतिपूर्तिको माग गरेका थिए। गत मङ्सिर २४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले कुटपिटबाट मारिएका दुई कैदीका परिवारलाई क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा सिफारिस गरिएको सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए।

यस सम्बन्धमा गृह मन्त्रालयबाट हालसम्म कुनै पनि निर्णय नआएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ। हत्यामा संलग्नताको आरोपमा सात प्रहरी र आठ जना कैदीलाई पुर्पक्षका लागि थुनामा राखिएको छ। जिल्ला अदालतको भदौ २७ गतेको आदेशले सात प्रहरीलाई जिल्ला कारागार, धनकुटा र कैदीलाई जिल्ला कारागार, तेह्रथुम पठाएको थियो। कुटपिटबाट मारिएका पीडित परिवारले क्षतिपूर्ति माग गर्दै गत भदौ २० गते गृह मन्त्रालयमा ज्ञापनपत्रसमेत बुझाएका थिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर