रुसमा रहेका नेपालीप्रति राज्य गंभिर छ, चाडै सकारात्मक परिणाम आउनेछः परराष्ट्र मन्त्री

परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकका प्रति राज्यको दायित्व रहेको र यस विषयमा राज्य गंभिर भएको बताएका छन् । उनले गैरकानुनी रुपमा गएका नेपालीहरुप्रति समान नागरिकको व्यवहार हुने बताए ।

रुसी सेनामा भर्ना भएका नेपालीहरुका आफन्तसँग मंगलबार मन्त्रालयमा भएको छलफलका क्रममा उनले कानूनी रुपमा गएको भए उद्धारमा कठिनाइ नहुने बताए ।

‘लिगल्ली गएको भए हुन्थ्यो। इल्लिगल्ली गएका छन्। जसरी गएका भए पनि उनीहरुका प्रति राज्यको दायित्व छ,’ परराष्ट्रमन्त्री साउदले भने, ‘आफ्ना नागरिकप्रति सरकार सधैँ जिम्मेवार हुनुपर्छ, हुन्छ। उहाँहरुलाई फिर्ता ल्याउन कुनै पनि कमिकमजोरी हुने छैन। इमान्दारितापूर्वक प्रयास गरिरहेको छु। गरिरहने छु।’

उनले रुसी सेनामा भर्ना भएकाका परिवारका सदस्यहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् ।

रुसी सेनामा भर्ना भएका नागरिकको सकुशल फिर्ती, घाइतेको उपचार र उद्धार तथा युद्धमा मृत्यु भएकाहरुको शव नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, मस्कोस्थित नेपाली दूतावास क्षमताले भ्याएसम्म हरसम्भव प्रयास गरिरहेको मन्त्री साउदले बताए।

‘नेपाली नागरिकको सुरक्षित फिर्तीका लागि काठमाडौँस्थित रुसी दूतावास, मस्कोस्थित नेपाली दूतावास र अन्य माध्यमहरुबाट नेपाल सरकार रुसी पक्षसँग निरन्तर सम्पर्कमा छ,’ उनले भने।

परराष्ट्रमन्त्री साउदले छलफलका क्रममा मन्त्रालय अन्तरगतको कन्सुलर विभागमा हालसम्म मृत्यु भएका, सम्पर्कमा नभएका तथा रुसी सेनाबाट फिर्ता गरिदिन अनुरोधसहितका २४४ जनाका बारे परिवारले निवदेन दिएको पनि जानकारी गराए।

उनले रुसी सेनामा भर्ना भएका व्यक्तिका बारेमा कन्सुलर विभागमा आवेदन दिन पनि सम्बन्धित नागरिकका घर–परिवारलाई आग्रहसमेत गरे। घर–परिवारले आवेदन दिए सरकारलाई रुसी सेनामा भर्ना भएका नागरिकको स्थिति यकिन गर्न सहज हुने साउदको भनाइ थियो।
रुसी सेनामा भर्ना भएका नागरिकको संख्याका बारेमा अतिरञ्जित गरेर समाजमा भ्रम फैलाउने ढंगले कसैले पनि प्रस्तुत हुन नहुनेमा उनको जोड थियो।

परराष्ट्रमन्त्री साउदले रुसी सेनामा भर्ना भएकाका परिवारका सदस्यहरुलाई पछिल्लो विकासक्रमका बारेमा पनि जानकारी गराए। उनले भारत भ्रमणमा गएको अघिल्लो दिन फेब्रअरी २० मा रुसी राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेको बताए।

साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकबारे सरकारले राखेका कतिपय मुद्दाहरुमा रुसी पक्षबाट सकारात्मक जवाफ प्राप्त भएको, मृतक र घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउने विषय अगाडि बढेको बताए ।

उनले रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्किन दिने विषयमा समेत रुसी सरकारसँग कुरा भएको जानकारी दिए। परराष्ट्रमन्त्री साउदका अनुसार सरकारले रुससँग नेपाली नागरिकको शव फिर्तासम्बन्धमा पनि निरन्तर अनुरोध गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर