भारतमा हालसम्मकै धेरै ३ हजार किलो लागुऔषध बरामद, ५ विदेशी नागरिक पक्राउ

भारतीय नौसेना, गुजरात एन्टी टेररिस्ट स्क्वाड र नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को संयुक्त कारबाहीमा गुजरातको तटीय क्षेत्र अरब सागरमा एउटा डुंगाबाट ३ हजार ३ सय किलो लागुऔषध बरामद गरिएको छ । बुधबार लागुऔषधसहित भारतीय सुरक्षाकर्मीले पाँच विदेशीलाई पनि पक्राउ गरेको हो ।

भारतमा अहिलेसम्म कुनै पनि कारबाहीमा बरामद भएको लागुऔषधको यो सबैभन्दा ठूलो खेप भएको अधिकारीहरुले बताएका छन् । केन्द्रीय गृहमन्त्री अमित शाहले यो संयुक्त कार्यलाई ‘ऐतिहासिक सफलता’ र देशलाई लागुऔषधमुक्त बनाउन नरेन्द्र मोदी सरकारको अटल प्रतिबद्धताको प्रमाणको रूपमा वर्णन गरेका छन् ।

बरामद लागूऔषधमा ३ हजार ८९ केजी चरेस, १५८ केजी ‘मेथाम्फेटामाइन’ र २५ केजी ‘मोर्फिन’ रहेको अधिकारीहरूले बताएका छन् ।

नौसेनाले सामाजिक सञ्जाल प्लेटफर्ममा एक पोस्टमा भने, ‘यो कुनै पनि अपरेशनमा जफत गरिएको लागूऔषधको सबैभन्दा ठूलो खेप हो ।’ एनसीबीसँगको सहकार्यमा भारतीय नौसेनाको मिशनअन्तर्गत तैनाथ गरिएको निगरानी उपकरणको संयुक्त प्रयासले यो सम्भव भएको हो ।

डुंगाबाट पक्राउ परेका पाँच जना इरानी वा पाकिस्तानी नागरिक भएको आशंका गरिएको छ । एनसीबीका एक वरिष्ठ अधिकारीले उनीहरुबाट कुनै पनि नागरिकताको कागजात फेला नपरेको बताए । अधिकारीले प्रतिबन्धित सामग्रीको मूल्य भने खुलाएनन् । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर