भारतसँग विद्युत आयात अनुमति नवीकरण हुन्छ,लोडसेडिङ हुने हल्ला सही होइन : ऊर्जामन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै ऊर्जा मन्त्री बस्नेतले मिडियामा समाचारहरु आएअनुसारको समस्या नभएको दाबी गरेका हुन्।

उनले केही दिनदेखि भारतबाट विद्युत् खरिद सम्झौता नवीकरण नहुने र अब केही दिनमा लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार भएको बताए। उनले विद्युत् खरिद सम्झौतामा हरेक वर्ष प्रतिष्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको उल्लेख गरे।

उनले बाहिर आए जस्तो भारतले विद्युत् आयात गर्ने अनुमति नवीकरण नगर्ने भन्ने अवस्था नभएको दाबी गरे। भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरणको प्रक्रियाको काम भइरहेको हुँदा आयात अनुमति नवीकरण हुने भन्दै लोडसेडिङ नहुने उनले जिकिर गरे।

उनले भारतीय प्रतिष्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) बाट बिजुली आयातको अनुमति नवीकरण नहुने भन्ने हल्ला वास्तविकता नभएको दाबी गरे। उनले भारतबाट बिजुली आयात अनुमति नहुने भनेर आवश्यकता भन्दा बढी चर्चा गर्न उपयुक्त नभएको बताए।

भारतबाट बिजुली खरिदको लागि हरेक वर्ष नविकरण गर्नुपर्ने हुन्छ। उक्त नवीकरण भारतको इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) ले नवीकरण नगर्ने मनस्थिति बनाएको हल्ला बजारमा चलेको छ।

नेपाल विद्युत् प्राधिकरणले आन्तरिक माग पूरा गर्न करिब ६०० मेगावाटभन्दा बढी आयात गर्दै आएको छ। तर पनि नेपालका औद्योगिक क्षेत्रहरुमा विद्युत कटौती गर्दै प्राधिकरणले लोडसेडिङ गरिरहेको व्यवसायीहरुले बताइरहेका छन्।

ऊर्जामन्त्री बस्नेतले विराटनगर करिडोरमा विद्युत् आपूर्तिमा समस्या रहेको स्वीकार गरे। उनले गतवर्ष पूर्वपहाडी जिल्लामा गएको बाढी पहिरोको कारण जलविद्युत् आयोजनाहरुमा भएको क्षतिको असर विराटनगर करिडोरमा परेको बताए। उनले निजी क्षेत्रले उत्पादन गरेको विद्युत ढल्केवरबाट इनरुवालाई प्रशारणलाइन जोडेर विराटनगर करिडोरको प्रेसरलाई कम गर्ने प्रयास गरिरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर