प्रहरीका घुमुवा खटाउन गृहमन्त्रीको अंकुश

नेपाल प्रहरीको सादा पोशाकमा जनशक्ति (घुमुवा) परिचालनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अंकुश लगाएका छन् । मन्त्री लामिछानेले घुमुवा प्रहरी गैर–व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासो आएको भन्दै त्यसरी नखटाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका हुन् ।

सोही निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले आज विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, सातवटै प्रदेश प्रहरी कार्यालयलाई घुमुवा परिचालन नगर्ने निर्देशन दिएको छ ।

‘सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर–व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले आज सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको हो,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले ती कार्यालय तथा मातहत समेतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन दिएको छ ।

उनीहरुको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ । प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै पठाउन पनि मातहतका निकायलाई निर्देशन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर