बजेट लेखन सुरु, अत्यावश्यक कामबाहेक भेटघाटमा नआइदिन मन्त्रालयको अनुरोध

अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरू भएकाले अत्यावश्यकबाहेक घेटघाटका लागि नआइदिन आग्रह गरेको छ ।

मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरुपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको हो ।

अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । समितिमा सहसचिचवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

समितिले गठन भएको भोलिपल्टै शनिबार अर्थमन्त्री पुनबाट आवश्यक निर्देशन लिएर बजेट लेखनको काम थालिसकेको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव उत्तरकुमार खत्रीले बजेट निर्माणसँग सम्बन्धित सरोकारवालालाई पनि पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गरे । ‘बजेट निर्माणको समयमा बिहानदेखि राति अबेरसम्म कर्मचारीले काम गर्नुपर्ने हुन्छ । अनावश्यक भिडभाड हुँदा काम प्रभावित हुन्छ’, खत्रीले भने, ‘ तर, सबै भेटघाट बन्द गरिएको होइन । भेट्नैपर्ने सरोकारवालाहरुलाई पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गर्न चाहन्छु ।’

०७२ मा जारी नेपालको संविधानमा हरेक वर्ष १५ जेठमा अर्थमन्त्रीले संघीय संसदमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था छ । तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले गत १४ फागुनमा प्रतिनिधि सभा र राष्ट्रियसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । वर्तमान अर्थमन्त्री पुनले सोही प्रस्तावमा सांसदहरुका सुझाव समेटेका थिए । संसदमा बजेटका सिद्धान्त र प्राथमिकता पारित भइसकेको छ  ।

वर्तमान अर्थमन्त्री वर्षमान पुनले सोही प्रस्तावमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएसँगै दुवै सदनले बजेटका सिद्धान्त र प्राथमिकता पारित गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर