राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एसको पनि दाबी

राष्ट्रिय सभा उपाध्यक्षका लागि एमालेले सांसद विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । कपिलवस्तुबाट प्रतिनिधित्व गर्ने घिमिरे एमाले केन्द्रीय कमिटी सदस्यसमेत छिन् ।

एमालेले सत्तागठबन्धनमा आबद्ध दलहरूबीचको सहमतिअनुसार उम्मेदवार अगाडि सारेको बताएको छ । सत्तारुढ पाँच दलको शीर्ष तहमा भएको सहमतिअनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले बताए । तर, एकीकृत समाजवादीले पनि राष्ट्रिय सभा उपाध्यक्षमा आफ्नो दाबी पेस गरेको छ ।

२७ चैतमा उम्मेदवारी मनोनयन हुने गरी संसद्ले निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुँदै छ । ‘पहिले हामीले नै पाउने सहमति हो, तर एकीकृत समाजवादी सरकारमा सामेल भएपछि उहाँहरूले पनि दाबी गरेका कारण पछि छलफल गरौँला भन्ने भएको रहेछ,’ उनले भने, ‘तर, पछिल्लो छलफलमा शीर्ष तहमा हामीले नै उपाध्यक्ष लिने सहमति भएकाले उम्मेदवारी दिने तयारी गरेका छौँ ।’ एमालेले घिमिरेलाई संघीय संसद् संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति बनाउने तयारी गरेको थियो ।

दलीय भागबन्डामा सो समितिको नेतृत्व एमालेको भागमा परेको थियो । तर, समिति गठनमा ढिलाइ भएपछि घिमिरे सभापति बन्न सकेकी थिइनन् । एकीकृत समाजवादीका नेताहरूले पार्टी सरकारमा सामेल हुने क्रममै उपाध्यक्ष आफ्नो पार्टीले पाउने समझदारी बनेको दाबी गरेका छन् । माओवादी, एमाले, रास्वपा र जसपाको चार दलीय गठबन्धनका क्रममा राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने लिखित सहमति भएको थियो । तर, पछि एकीकृत समाजवादी सरकारमा सहभागी हुने क्रममा उक्त सहमतिको बुँदा हटाइएको थियो ।

यसअनुसार उम्मेदवारी दिइने एकीकृत समाजवादीका नेताहरूको भनाइ छ । एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले पूर्वसमझदारीअनुसार आफ्नो पार्टी उम्मेदवारी दिने मनस्थितिमै रहेको बताए । नेकपा एसले दाबी गरेपनि कसलाई उम्मेदवार उठाउने भन्ने तय गरिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *