पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो

नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत-वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । यहाँका होटलमा पाहुनाको सङ्ख्या क्षमताको ५० प्रतिशतसम्म पुगेको होटेल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

“शुक्रवार-शनिबार त होटेलको अकुपेन्सी ६० प्रतिशतसम्म पनि पुग्छ”, उनले भने, “नयाँ वर्षका बेला ९० प्रतिशतभन्दा माथि पुग्ने हाम्रो अपेक्षा छ ।” पर्यटनका लागि ‘अफ सिजन’ मानिने गत पुस-माघमा पोखराका होटेलको ‘अकुपेन्सी’ दस प्रतिशतभन्दा कममा सीमित थियो । नयाँ वर्षलाई लक्षित गरेर लेकसाइडमा ‘१९औँ फेवा नव वर्ष महोत्सव’ आयोजना गरिएकाले पर्यटकको आवागमन थप बढ्ने अध्यक्ष सुवेदीको अपेक्षा छ ।

महोत्सव अवधिमा होटलमा ३० प्रतिशत छुटको व्यवस्था मिलाइएको उनको भनाइ छ । उनका अनुसार पोखरामा दैनिक ४० हजार पर्यटक राख्न सक्ने होटेलको क्षमता छ । यो याममा उल्लेख्य मात्रामा भारतीय पर्यटक घुमफिरका लागि पोखरा आउने गरेका छन् । पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेको अध्यक्ष सुवेदीले बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण सुवेदीले अहिले दैनिक डेढदेखि दुई सयसम्म भारतीय निजी सवारीसाधन पोखरा भित्रिरहेको बताए ।

पोखरा आउने भारतीय पर्यटकमध्ये झण्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेको अध्यक्ष श्रेष्ठले बताए । पोखरा भित्रने विदेशी पर्यटकको यकिन तथ्याङ्क भने कुनै पनि निकायसँग नरहेको उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले व्यवस्थित प्रचारप्रसार र प्रवर्द्धन गर्न सके पोखरामा वार्षिक २० लाख भारतीय पर्यटक भित्राउन सकिने बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा.रबिन कडरियाले पोखरा आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने गरेको बताए । उनका अनुसार गत अङ्ग्रेजी महिना मार्चमा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।

जसमध्ये दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना थिए । अन्नपूर्ण क्षेत्र घुम्न जाने दक्षिण एसियाली मुलुकका पर्यटकमध्ये ९० प्रतिशत जति भारतीय हुने गरेको प्रमुख डा.कडरियाले बताए । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको उनको भनाइ छ ।

अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री पर्यटकको रोजाइमा पर्दै आएको उनको भनाइ छ । ‘एक्याप’का अनुसार सन् २०२३ मा एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए ।

जुन संख्या हालसम्मकै बढी हो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक त्यहाँ पुगेका थिए । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्य स्थल पर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर