काठमाडौंमा १९औं हस्तकला व्यापार मेला हुँदै

काठमाडौंमा १९ औँ हस्तकला व्यापार मेला हुने भएको छ ।

नेपाल हस्तकला महासंघले हरेक वर्ष गर्दै आएको हस्तकला व्यापार मेलाको १९औँ संस्करण आगामी मंसिर २३ गतेदेखि २७ गतेसम्म हुने भएको हो ।

मेला काठमाडौंको बौद्धस्थित होटेल हायात रिजेन्सीमा हुने भएको छ । महासंघको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र उद्योग वाणिज्य क्षेत्रका विभिन्न संघ, संगठनहरुको सहयोगमा हुन लागेको मेलामा हस्तकलाका वस्तुहरुको करिव १५० वटा स्टल रहने बताइएको हो ।

मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थांका गरी ३ वटा विधाका कला प्रदर्शनी हुने जनाइएको छ । महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नेपाली हस्तकलाको प्रवर्द्धन गर्दै विदेशसम्म पहिचान गराउनका लागि मेलाको आयोजना गरिएको बताए । उनले मेलाले हस्तकलाका सामग्रीहरुको निर्यातलाई बढाउनका लागि सघाउ पु¥याउने बताए ।

मेलामा हस्तकलाका वस्तुहरुको वृहत प्रदर्शनी तथा बिक्री हुनेछ । मेला संयोजक डिल्लीरत्न तुलाधरले मेलामा उत्कृष्ट स्टल प्रतियोगिता, मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरुको प्रदर्शन र परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी गरिने जानकारी दिए ।

त्यस्तै अमूर्त सांस्कृतिक सम्पदाको उजागर, जेष्ठ वरिष्ठ कलाकारहरुलाई सम्मान, अग्रणी निर्यातकर्ताहरुलाई सम्मान कला प्रदशर्नी र २०२३–२४ को ट्रेन्ड डिस्प्ले देखाइने उनले बताए । मेलासँगै १७ औँ हस्तकला प्रतियोगितासमेत हुने भएको छ । काष्ठकला, प्रस्तरकला, मैनकला, मृतिकाकलामा मानव मुखाकृति भएको गरुड अर्थात बण्टेजको मूर्ति बनाउने र ऊनी, ढाका, कपडा, प्राकृतिक रेशाजन्य वस्तुबाट मफलर बनाउने प्रतियोगिता हुने उनले जनाए ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई ३० हजार रुपैयाँ र तृतीय हुनेलाई २० हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर