रौतहटमा फरार अभियुक्तको चक्कु प्रहारबाट प्रहरी सहायक हवल्दार घाइते
१९ माघ २०७९ १५:४०
फरार अभियुक्तलाई पक्राउ गर्न गएको प्रहरीमाथि रौतहटमा चक्कु प्रहार भएको छ। फरार अभियुक्तको चक्कु प्रहारबाट प्रहरी सहायक हवल्दार सुरेश यादव घाइते भएका छन्।
बुधबार दिउँसो रौतहटको गौर नगरपालिका वडा नं. २ लालबकैया खोलापारी केरा घारीमा डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त बसेको भन्ने सूचना प्रहरीसमक्ष आएको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले सर्च अप्रेशन गरेको थियो। गौर नगरपालिका वडा नं. ५ कोइरीटोल बस्ने १९ वर्षीय राहुल यादव र गौर नगरपालिका वडा नं. ४ बस्ने १९ वर्षीय रवि यादवलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा राहुलले प्रहरी सहायक हवल्दार यादवलाई चक्कु प्रहार गरेका थिए।
प्रहरी सहायक हवल्दार यादवको दाहिने हातमा चोट लागेको छ। प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाइफायर गरी राहुल यादवलाई पक्राउ गरेको थियो। उनको साथबाट चक्कु र कैंचीसमेत बरामद गरेको छ।
घटनापछि भाग्न सफल रविलाई खोजतलास गर्ने क्रममा बिहीबार बिहान नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले बताए।
रौतहट गौर नगरपालिका वडा नं. ४ मै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू दुवै जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया