खाद्य कम्पनीमै अखाद्य सामग्री भेटिएपछि …

काठमाडौं महानगरपालिकाले दशैं लक्षित बजार अनुगमन गरेको छ । मंगलबार महानगरपालिकाकी उपमेयर डंगोलको टोलीले दशैै लक्षित बजार अनुगमन गरेको हो ।

उपमेयर डंगोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल, मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरूमा अनुगमन गरेको छ । टोलीले महानगरभित्र रहेको भित्री पसलहरूमा गएर सामानको बिल, रजिटष्ट्रेसन गरे/नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो ।

बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमेयर डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताइन् । उनले कतिपयलाई दर्ता गराउने कुराहरू नै थाहा नभएको र उनीहरूलाई सचेत गराइएको बताइन् । उनले बेच्ने मात्र नभई किन्ने मानिसहरूमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसक्ने समस्या देखिएको बताइन् ।

उपमेयर डंगोलले अनुगमनको क्रमलाई दशैंपछि पनि निरन्तरता दिने प्रतिबद्धता जनाइन् । उनले जानेर बजारमा उपभोक्ताहरूलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरूलाई कानूनअनुसार कारबाही गर्ने चेतावनी दिइन् ।

अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो । जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी तर्फबाट बागमती प्रादेशिक प्रमुख ज्ञानु थापाले मिति सकिएका खाद्य सामग्री विभागले नबेचेको दाबी गरिन् । उत्पादित मिति नै मेटिएको खाद्य सामग्री भेटियो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा कतिपय सामान उत्पादित कम्पनीबाट आउँदै मेटिएको हुने र विभागले भने उपभोक्तालाई अखाद्य सामग्री नबेचेको बताइन् ।

उनले विभागबाट भएका कमजोरीलाई आगामी दिनमा सच्याउने प्रतिबद्धता जनाइन् । उनले यस वर्षको दशैंका लागि विभागले १८ सय खसीबोका र ५ सय च्याङ्ग्रा ल्याउने तयारी गरेको बताइन् । उनले कतिपय च्याङ्ग्राहरू आइसकेको र केही आउने क्रममा रहेको पनि जानकारी गराइन् ।

त्यस्तै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्तालाई खाद्य सामग्री प्रदान गर्ने कुरामा राज्य जिम्मेवार नबनेको आरोप लगाइन् । उनले महानगरले गरेको आजकै अनुगमनमा पनि सरकारी संस्थाहरूमा नै अखाद्य सामग्री फेला परेको भन्दै आक्रोश व्यक्त गरे । उनले उत्पादक र आयातकर्ताको स्पष्ट ठेगाना बिनाका खाद्य सामग्रीहरू धेरै भेटिएको उल्लेख गर्दै यस्ता सामग्री बिक्री गर्न कानूनले नै वर्जित गरेको बताए ।

उनले सरकारी संस्थाहरूमा नै अखाद्य सामग्री भेटिएको भन्दै सरकारी संस्थाहरू सबैभन्दा बढी पारदर्शी र स्वस्थ रहन आवश्यक रहेको बताए । उनले नागरिकप्रति सरकारी संस्थाहरू जिम्मेवार बन्नुपर्ने र विशेषगरी स्थानीय सरकारले यसको जिम्मा लिन आवश्यक रहेको बताए । उनले अहिले बजार अनुगमन नियमित हुन नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *