समानुपातिकको बन्दसूचीबाट ५५० जनाको नाम हटाइयो

निर्वाचन आयोगले आगामी आमनिर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीबाट ५ सय ५० जनाको नाम हटाएको छ।
आयोगले एक सूचना जारी गर्दै कात्तिक ८ गते प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४ सय ५७ जना उम्मेदवारहरूमध्ये ५ सय ५० जनाको नाम हटाउने निर्णय भएको जनाएको हो।

निर्वाचन कानून तथा निर्वाचन आचारसंहिताबमोजिम तोकिएको जरिवाना नबुझाउने ३६९ जना, उम्मेदवारहरूका सम्बन्धमा परेको दाबी विरोधउपर जाँचबुझबाट गरी ५४८ जना, समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक जना र कालोसूचीमा रहेका एक जना गरी कूल ५५० जना व्यक्तिको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले बताए।

प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यका लागि दलहरूले पेस गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारहरूको सम्बन्धमा जाँचबुझ गर्दा दाबी विरोधमा उजुरी नपरेका कतिपय व्यक्तिहरूले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण पेस नगरेको पाइएको र २०७९ कात्तिक ५ गतेभित्र तोकिएको जरिवाना बुझाउने मौका प्रदान भएकोमा सो अवधिभित्र समेत जरिवाना नबुझाउने ३६९ जनाको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको हो।

यस्तै बन्दसूचीमा समावेश रहेकामध्ये असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधि सभा सदस्यतर्फ २३ जना र प्रदेश सभा सदस्यतर्फ २९ जना गरी ५२ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना, महिला पुरूषको विवरण फरक परेका ३७ जना, कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधि सभातर्फका ६ जना, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेश सभातर्फका १२ जना र आवश्यक कागज प्रमाण पेस नभएका ६ जनाको नाम पनि सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको आयोगले जनाएको छ।

हेर्नुहाेस् सूचना :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *