प्रचण्डप्रति लिङ्देनको कटाक्ष- ‘विदेशीका लागि सरकार बनाउँछु भनेर भाषण गर्दैछन्’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताएका छन् । शनिबार गोरखामा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वाइडबडी, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाइरहेको बताए । अध्यक्ष लिङ्देनले विभिन्न पार्टी भनेर देखावटी भनाभन गरे पनि भ्रष्टाचार गर्ने बेलामा सबै एक ठाउँमा उभिने परिपाटी ठूला भनिएका राजनीतिक दलहरूमा रहने गरेको बताए ।

उनले राजनीतिक दलहरूको मनोमानीका कारण समाज विभाजित भइरहेको र देशको एकता संकटमा परेको उल्लेख गरे । उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै अहिले ठूला भनिएका राजनीतिक दलहरूले जनताको लागि नभई विदेशीहरूका लागि सरकार बनाउँछु भन्ने भाषण गर्दै हिँडेको बताए ।

उनले नेपालको संविधान कस्तो हुनुपर्छ भन्ने कुरा विदेशीहरूले भन्ने गरेको उल्लेख गरे । उनले नेपालको राजनीतिमा विदेशीको आशीर्वाद, समर्थनबिना मन्त्री, प्रधानमन्त्री हुनसक्ने स्थिति नरहेको पनि दाबी गरे । उनले नेपाली नेताहरूमा विदेशीअघि आत्मसमर्पणको प्रवृत्ति हाबी भएको बताए ।

अध्यक्ष लिङ्देनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आम जनताको आकंक्षा पूरा गर्ने र देश बचाउने मौका भएको दाबी गरे ।

पछिल्लो समय आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा लक्षित चुनावी प्रचारप्रसार तीव्र बन्दै गएको छ । विभिन्न दलका शीर्ष नेताहरूले विभिन्न स्थानमा पुगेर चुनावी प्रचारप्रसार गरिरहेका छन् । राप्रपाले पनि गोरखा, नवलपरासी, चितवनलगायत देशभरका विभिन्न स्थानमा चुनावी प्रचारप्रसारलाई तीव्र पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर