गठबन्धनका कारण जित सुनिश्चित भइसक्यो : ओनसरी घर्ती

नेकपा (माओवादी केन्द्र)की नेतृ ओनसरी घर्तीले सत्तारूढ गठबन्धनका कारण आसन्न निर्वाचनमा जित सुनिश्चित भएको बताएकी छन्।

सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले सत्ता गठबन्धनका कारण जित सुनिश्चित भएको र प्रक्रिया पूरा गर्नका लागि मात्रै मंसिर ४ गते कुर्नुपरेको बताएकी हुन्।

काठमाडौं क्षेत्र नम्बर २ को कोटेश्वर क्षेत्रमा मतदाताहरूसँग भेटघाट गर्ने क्रममा नेतृ घर्तीले भनिन्, ‘गबठन्धनका कारण हामी आफ्नो जित निश्चित भएको महशुस गरिरहेका छाैँ। हामी आगामी ४ गतेको चुनावी प्रक्रिया मात्रै पर्खिएर बसेका छौँ।’

उनले आफू नागरिकमाझ काम गर्नसक्ने प्रतिबद्धता मात्रै लिएर उपस्थित भएको बताइन्। काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार घर्तीले वाम गठबन्धनले बोलेको गर्ने र सक्ने मात्रै बोल्ने बताइन्।

उनले अहिले आसन्न निर्वाचनका लागि घरदैलो कार्यक्रममा सहभागी भइरहेको र घरदैलो कार्यक्रममा आम नागरिकले उत्साहपूर्वक आफूप्रति रुचि देखाएको बताइन्। उनले कार्यकर्ता र आम नागरिकले अग्रिम शुभकामना दिइसकेको भन्दै पार्टीको चुनावी एजेण्डामा आम नागरिकहरूबाट राम्रा प्रतिक्रिया आइरहेको पनि बताइन्।

पछिल्लो समय निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा सक्रिय छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो पार्टीलाई जित दिलाउन राजनीतिक दलका शीर्ष नेताहरू पार्टीका चुनावी एजेण्डा लिएर देश दौडाहामा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर