निर्वाचन तयारीबारे कूटनीतिक नियोगलाई जानकारी

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगहरूलाई जानकारी गराएको छ।

आयोगले सोमबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई निर्वाचनबारे जानकारी गराएको हो।

आयोगको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको र आवश्यक तयारी पूरा भएको जानकारी गराएका हुन्।

उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तर्राष्ट्रिय समुदायबाट पनि साथ र सहयोगको अपेक्षा गरेको बताए।

आयोगका उपसचिव कमल भट्टराईले निर्वाचनका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनका लागि गरिएको प्रबन्ध, निर्वाचन अनुगमन गर्ने संस्था तथा पर्यवेक्षहरूको बारेमा विस्तृत जानकारी गराएका थिए। उनले निर्वाचनमा मतदानपछि सुरक्षा संवेदनशीलताको दृष्टिले महत्त्वपूर्ण मानिएको मतपेटिका सुरक्षाको लागि सुरक्षा निकायको ३ घेरा कायम हुने गरी व्यवस्था मिलाइएको जानकारी दिए।

भटराईले ३ वटा अन्तर्राष्ट्रिय संस्था, ४४ वटा राष्ट्रिय संस्थालाई निर्वाचन अनुगमनको अधिकार प्रदान गरिएको र निर्वाचनमा ८ हजार पर्यवेक्षक परिचालन गरिएको बताए।

कार्यक्रममा विदेशस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूले संविधानमा उल्लेख भएअनुसार महिला सहभागिताको प्रत्याभूतिबारे जिज्ञासा राखेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *