आमनिर्वाचन-२०७९

निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सरकार सक्षम : गृह मन्त्रालय

सरकारले निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सक्षम रहेको बताएको छ ।

शुक्रबार निर्वाचन पूर्व तयारीको सम्बन्धमा जानकारी दिनका लागि गृह मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचनलाई असर गर्ने खालका क्रियाकलापहरुलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै गृहसचिव विनोदप्रकाश सिंहले अराजक र हिंसात्मक गतिविधि गर्ने व्यक्ति तथा समूहहरुलाई कानूनी दायरामा ल्याइने बताए । उनले मतदानलाई असर पर्ने खालका कुनै पनि गतिविधि हुन नदिइने स्पष्ट पारे । उनले कर्मचारी, मतदाता, उम्मेदवार र मतपेटिकालगायत मतदान सामग्रीको सुरक्षामा खतरा पैदा हुने कुनै पनि क्रियाकलाप सह्य नहुने बताए । त्यस प्रकारका गतिविधिहरुलाई सरकारले कडाइपूर्वक नियन्त्रण गर्ने उनले बताए ।

गृहसचिव सिंहले मतदानस्थलमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरुलाई निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन निर्देशन दिइएको जानकारी गराए । निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्नेगरी काम गर्ने कर्मचारीहरुलाई कारबाही गरिने उनले बताए । उनले कर्मचारीहरुलाई कुनै पार्टी, उम्मेदवार वा आस्थाप्रति झुकाव हुनेगरी क्रियाकलाप नगर्न निर्देशन दिए ।

गृहसचिव सिंहले मतपेटिकालाई मत गणनास्थलसम्म ल्याउनका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगरिने स्पष्ट पारे । सवारी साधनको अभाव रहेका विकट ठाउँहरुमा भने मतदान अधिकृतले माग गरे अनुरुप सशस्त्र प्रहरीको सवारी साधन प्रयोग गर्न सकिने उनले उल्लेख गरे । अन्यथा सुरक्षा निकायको सवारी साधनमा सिल गरिएका मतपेटिका नबोकिने उनको भनाइ छ ।

उनले मंसिर ४ गतेको निर्वाचनमा उत्साहपूर्वक भाग लिन र आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरुमा अपिल गरे ।

गृहसचिव सिंहका अनुसार हिमाली र उच्च पहाडी जिल्लाका दुर्गम क्षेत्रका मतदान केन्द्रहरुबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका ल्याउन हेलिकप्टरको प्रयोग गरिनेछ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी करिब ३ लाख सुरक्षाकर्मी परिचालन गरिने उनले जानकारी दिए । त्यस्तै प्रत्येक निर्वाचन क्षेत्रमा मंसिर १ गतेदेखि सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको बताए । सो टोलीले मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारले पालना गर्नुपर्ने विषय र आचारसंहिता उल्लंघनका विषयको अनुगमन गर्ने जनाइएको छ ।

उनका अनुसार नेपाली सेनाका हेलिकप्टरहरु इटहरी, बर्दिबास, पोखरा र सुर्खेतमा तयारी अवस्थामा तैनाथ गरिएको छ । नेपालको कुनै पनि स्थानमा बढीमा ३० मिनेटमा पुग्नेगरी नेपाली सेनालाई परिचालन गरिएको गृहसचिव सिंहले जानकारी दिए । त्यस्तै देशभरका ९०३ स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली खटाइएको उनले बताए ।

पत्रकार सम्मेलन गर्नुअघि गृह मन्त्रालयमा गृह सचिवसहित सबै सुरक्षा निकायका प्रमुखहरुको बैठक बसेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *