आमनिर्वाचन-२०७९

अबको संसद् अस्थिर हुने आकलन

प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतपरिणाम हेर्दा आगामी संसद् अस्थिर हुने आकलनहरु हुन थालेका छन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम घोषणा हुने क्रम जारी छ । देशभरका केही क्षेत्रका मतपरिणाम घोषणा भइसकेका छन् भने धेरै स्थानमा मत गणना कार्य जारी छ ।

घोषणा भइसकेका र गणना भइरहेका मतपरिणामहरु हेर्दा ठूला दलका स्थापित नेताहरु पराजित भइरहेका छन् । नयाँ दलका नयाँ उम्मेदवार तथा पुरानै दलका पनि नयाँ उम्मेदवारहरुले अग्रता कायम राखिराखेको अवस्था छ ।

प्रारम्भिक परिणामहरु हेर्दा ठूला तथा पुराना दलका नेताहरुलाई पाखा लगाउँदै संसद्मा थुप्रै संख्यामा नयाँ पार्टी र उम्मेदवारहरु आउने अवस्था देखिएको छ । यसले राजनीतिक स्थायित्वमाथि नै प्रश्नचिह्न खडा गर्नसक्ने विश्लेषण हुन थालेको छ ।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहालले संसद्मा १० भन्दा बढी राजनीतिक दलहरुको प्रतिनिधित्व हुने बताए । धेरै राजनीतिक दलहरुको संसद्मा प्रतिनिधित्व हुनु र कसैको बहुमत नहुनुले संसद् अस्थिर हुनसक्ने उनको भनाइ छ । उनले संसद्मा वि.सं. २०५१ सालपछिको भद्दा राजनीतिक खेल हुनसक्ने टिप्पणी गरे । नेपाली कांग्रेस पहिलो पार्टी हुने, एमाले दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो हुनसक्ने उनले आकलन गरे ।

उनले सत्तारुढ गठबन्धनले अझै पनि बहुमत ल्याउनसक्ने सम्भावना भने कायम रहेको उल्लेख गरे। अब बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै गर्नसक्ने उनले बताए । यद्यपि निर्वाचनमा नेपाली कांग्रेसका मतदाताले माओवादी केन्द्रलाई मत नदिएको भन्दै उनले गठबन्धन टुट्न सक्ने पनि बताए । गठबन्धन टुटेको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले) को सरकार बन्नसक्ने उनले उल्लेख गरे । उनले काग्रेसबाहेकका शक्तिको सरकार बन्नसक्ने सम्भावनालाई पनि नकार्न नसकिने बताए।

संविधानतः सरकार बनेको दुई वर्षसम्म सरकारका विरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने भएकाले दुई वर्ष सरकार चले पनि त्यसपछि भने अस्थिरताको समस्या बल्झिने उनले बताए । वरिष्ठ पत्रकार दाहालले नयाँ राजनीतिक दलहरुले पुरानो शैलीका कुराहरुलाई दोहोर्‍याउन नहुने बताए ।

उनले वैचारिक रुपमा पनि नयाँ हुनुपर्ने र कर्म, व्यवहार र आचरणले नयाँपन दिन सक्नुपर्नेमा जोड दिए । नयाँ उम्मेदवार तथा राजनीतिक दलहरुलाई निर्वाचनका क्रममा गरेका खर्चलाई पारदर्शी बनाउन र सार्वजनिक गर्न उनले आग्रह गरे । आम्दानी र खर्च पारदर्शी भएमा नयाँ कामको थालनी हुने उनको भनाइ छ ।

उनले नेपाली राजनीतिका गलत प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । मुलुकका लागि आवश्यक प्रवृत्तिहरुको विकास गर्नुपर्ने उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर