चिरिबाबुलाई बालेनको प्रस्ताव : नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र वाग्मतीको सफाइमा सहकार्य गरौं

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र वाग्मती नदीको सफाइका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन् ।

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाहले सो प्रस्ताव गरेका हुन् ।

यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्लाएक्लैले गर्न नसक्ने भएकाले यसमा दुवै महानगरपालिकाको सहकार्य अनिवार्य रहेको उनको तर्क थियो । मेयर शाहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय र वाग्मती सफाइको काममा मात्रै दुवै महानगरपालिकाले सहकार्य गरेर गए त्यो काठमाडौं उपत्यकाको विकासको लागि नै राम्रो सन्देश हुने समेत स्पष्ट पारे ।

उनले हाम्रो कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि नेवाः सम्बन्धि विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै जग्गाको आवश्यक व्यवस्था भने ललितपुर महानगरपालिकालाई मिलाउन सहज हुने धारणासमेत राखे ।

मेयर शाहले सम्पदाहरूको संरक्षणमा ललितपुर महानगरपालिकाबाट काठमाडौं महानगरपालिकाले धेरै कुराहरू सिक्नुपर्ने बताए । उनले प्राचिन ढुंगेधाराहरूको संरक्षणमा ललितपुर महानगरपालिकाले अघि सारेको अवधारणाबाट सिकेर आफूहरूले पनि सो कामलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ कलेजसँग सहकार्य गरेर अघि बढ्न लागेको जानकारी गराए ।

उनले ललितपुर महानगरपालिकासँग मित्रतापूर्ण सम्बन्ध रहेको र त्यसलाई अझै सुमधुर बनाउने गरी आपसी सहकार्यका साथ काम गर्न चाहेको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *