नागरिकका सुझावहरू संसद्मा सम्बोधन हुनुपर्छ : पूर्वसभामुख घर्ती

नेकपा (माओवादी केन्द्र) की नेतृ एवं प्रतिनिधि सभाकी पूर्वसभामुख ओनसरी घर्तीले संघीय कानून निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकारलाई समस्या परिरहेको भन्दै कानून निर्माणमा पहिलो प्राथमिकता दिनुपर्ने बताएकी छन् ।

मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

नेतृ घर्तीले संघीय शासनप्रणालीको दोस्रो कार्यकाल शुरु भइसक्दा समेत संघमा आवश्यक कानून निर्माण हुन नसकेकाले आम सर्वसाधारणहरुलेसमेत समस्या व्यहोरिरहेको बताइन् । उनले संघीय कानून बनिसकेपछि मात्रै प्रदेश सभाको प्रभावकारिता बढ्ने बताइन् ।

पूर्वसभामुख घर्तीले जनताले आफ्ना जनप्रतिनिधिहरुले संसदमा गरिरहेका कार्यहरु हेर्न पाउनुपर्ने बताइन् । उनले जनता र जनप्रतिनिधिबीचको सम्बन्ध ५ वर्षमा घोट माग्न जानेकुरामा मात्रै सीमित हुन नहुने बताइन् । उनले संसद्मा जनगुनासाहरुको सम्बोधन हुनुपर्ने पनि बताइन् । उनले जनप्रतिनिधिहरुले पद पाएपछि जनतासँग गरेका वाचाहरु भुल्न सक्ने भन्दै जनताले आफ्ना जनप्रतिनिधिहरुलाई झक्झकाइरहनुपर्ने बताइन् ।

पूर्वसभामुख घर्तीले नेपालमा सुशासनको समस्या बढिरहेको बताइन् । उनले जनताले गर्नै नसकिने काम गर्न नलगाएको भन्दै जनताले चाहेका काम सांसदले पूरा गर्नुपर्ने बताए । उनले जनताको काम गर्न र संसदका गतिविधिहरुलाई पारदर्शी बनाउन संघ र प्रदेशले प्रभावकारी भूमिका खेल्नुपर्ने बताइन् ।

उनले पछिल्लो समय भ्रष्टाचार बढिरहेको भन्दै सरकारको हरेक निकायहरु नै भ्रष्टाचारको संस्कार सिकिसकेको उल्लेख गरिन् । उनले भ्रष्टाचार नियन्त्रणका लागि नयाँ सांसदहरुलाई ठूलो चुनौती रहेको बताइन् । नेपालमा भएको पैसा पनि खर्च हुन नसकेको भन्दै गुनासो गरिन् ।

पूर्वसभामुख घर्तीले सांसदको काम र भूमिकाबारे जनतामा चेतना फैल्याउन आवश्यक रहेको पनि बताइन् । उनले कानून निर्माणका बारेमा विभिन्न स्तरका बैठक र छलफलहरु हुनुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर