बजार विस्तारबिना विज्ञापन व्यवसाय चल्न सक्दैन : अध्यक्ष हुमागाईं

नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डलाई स्वायत्त निकाय बनाउन माग गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित विज्ञापन बोर्डको कार्यक्षेत्र र विज्ञापन एजेन्सीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष धितालले विज्ञापनसम्बन्धी सानातिना टिप्पणी लिएर मन्त्रालय धाउनुपर्ने व्यवस्थाको अन्त्य गर्न पनि आग्रह गरे । उनले विज्ञापन बोर्डमा बजेटको अभाव भएको भन्दै सरकारले बजेट अभावलाई पूर्ति गर्न आवश्यक रहेको बताए । उनले व्यवसायलाई नियमन गर्ने, विज्ञापन क्षेत्रको बढोत्तर गर्ने, विज्ञापन व्यवसायलाई परिष्कृत गर्ने र उन्नत स्तरको विज्ञापन क्षेत्र बनाउन बोर्डले आवश्यक भूमिका खेल्नुपर्ने बताए ।

उनले विज्ञापन बोर्डले आफ्ना पूर्वाधार निर्माण गरी व्यवसायीहरूसँग मिलेर अघि बढ्नुपर्ने बताए । उनले विज्ञापनमा विज्ञापन बोर्ड प्रत्यक्ष सहभागी बन्न नहुने बताए ।

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले विज्ञापन बोर्ड नितान्त स्वायत्तता भएको संस्था रहेको उल्लेख गरे । उनले बोर्डको निर्णयमा सरकारको कुनै पनि हिसाबबाट हस्तक्षेप नरहेकाले बोर्डलाई स्वतन्त्र छैन भनेर दुष्प्रचार नगर्न आग्रह गरे । उनले विज्ञापन क्षेत्रमा रहेका सबैले एउटै धारणा बनाएर जानसके विज्ञापन व्यवसाय अझ बढी व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

उनले विज्ञापन बोर्डको आर्थिक हिसाव भने एक हिसावले सरकारले नै हेरिरहेको बताए । उनले आगामी दिनमा बोर्ड आत्मनिर्भर बनेपछि सरकारबाट बजेट ल्याउनुपर्ने आवश्यकता नरहने पनि स्पष्ट पारे ।

कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बजार विस्तारबिना विज्ञापन व्यवसाय चल्न नसक्ने बताए । अहिलेको सञ्चारमाध्यमको चापलाई बजार विस्तारबिना धान्न नसकिने भन्दै विज्ञापनको बजार कसरी विस्तार गर्ने भन्नेबारेमा सबैले सोच्न जरुरी रहेको बताए ।

उनले विज्ञापन बोर्डले विज्ञापन व्यवसायलाई कसरी मर्यादित, स्वच्छ र पारदर्शी बनाउने भन्ने एउटा मात्रै उद्देश्य लिएको बताए । उनले विज्ञापन बोर्ड स्वायत्त निकाय भएकाले स्वायत्तता छैन भन्न नमिल्ने बताए ।

अध्यक्ष हुमागाईंले विज्ञापन ऐनमा अपुग भएका कुराहरूलाई राष्ट्रिय नीतिमार्फत समेटेर अघि बढ्ने निर्णय बोर्डबाट भइसकेको र त्यसका लागि बोर्डले तयारी गरिरहेको बताए । उनले विज्ञापन आचारसंहिता कार्यान्वयनका लागि बोर्ड अझै पनि तयारीको चरणमा रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर