हस्तकला उद्योगलाई सातै प्रदेशमा विस्तार गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्।

शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। उनले वाग्मती प्रदेशले हस्तकला उद्योगकलाई प्रवर्द्धन गर्ने कामको थालनी गरिसकेको भन्दै सरकारले आगामी दिनमा सातवटै प्रदेशमा हस्तकला क्षेत्रको प्रवर्द्धन गर्ने बताए।

उनले हस्तकला क्षेत्र नेपालका लागि विकासको अर्ग्यानिक क्षेत्र भएको उल्लेख गर्दै नेपालकै वस्तुहरूको प्रयोगबाट नेपालीहरूकै सीप र जाँगरलाई प्रयोग गरी विश्वभर व्यापार गर्न सकिने यो क्षेत्रको प्रवर्द्धनका लागि सरकार लाग्ने बताए। उनले हस्तकला क्षेत्र राम्रोसँग प्रवर्द्धन गर्नसके देशको गम्भीर व्यापार असन्तुलनको स्थिति सन्तुलनतिर ल्याउन सक्ने र विदेशी मुद्राको सञ्चिति बढाउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री दाहालले आफूले यसपटक राम्राबाहेकका काम गर्दै नगर्ने प्रण लिएको बताए। उनले आफूले आफ्नो प्रधानमन्त्रीको तेस्रो कार्यकाललाई ठूलो अग्निपरीक्षाको रूपमा लिएको भन्दै जनताको यो अग्निपरीक्षामा राजनीतिक दलहरू पास भएर देखाउनुपर्ने बताए।

उनले विद्यालयको पाठ्यक्रममा नै हस्तकला राखेर पुस्तान्तरण गर्न सरकार लाग्ने पनि बताए। उनले हस्तकलालाई शिक्षा क्षेत्रमा प्रवेश गराई पुस्ता हस्तान्तरणलाई सहज बनाउने र ११ लाख प्रत्यक्ष र परोक्ष सदस्यलाई बढाउँदै लैजाने उद्देश्यका साथ हस्तकला क्षेत्रमा बजेटको व्यवस्थापन हुने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई राम्रो विश्वासमा नलिइकन सरकारले अर्थतन्त्रमा देखापरेका समस्याको समाधान गर्न सम्भव नरहेको पनि बताए। उनले राजनीतिक परिवर्तन भइसकेको र अब आर्थिक क्रान्ति, आर्थिक समृद्धिमा रूपान्तरण गर्नुपर्नेमा आफू प्रयत्नशील रहने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *