पाइलटले बस्ती जोगाउन जहाज सेती नदीको खोँचमा लगेको अनुमान

पोखरामा भएको विमान दुर्घटनामा पाइलटले बस्ती जोगाउन प्रयास गर्दा सेती नदीको खोँचमा जहाज खसेको हुनसक्ने देखिएको छ। प्रत्यक्षदर्शी र घटनास्थलमा रहेका सुरक्षाकर्मीले पाइलटले बस्ती जोगाउन हरसम्भव प्रयास गरेको देखिएको बताएका छन्।

दुर्घटनास्थल नजिकै अल्कापुर भन्ने बस्ती छ। त्यही बस्ती बचाउन पाइलटले दुर्घटना हुन लाग्दा जहाजलाई खोंचमा लगेका हुनसक्ने एक स्थानीयले बताए।

बस्तीमा जहाज खसेको भए झन् ठूलो धनजनको क्षति हुने थियो। अर्को ठूलो दुर्घटना हुनबाट रोक्न पाइलटले जहाज सेती नदीको खोँचमा खसालेको हुनसक्ने स्थानीयको भनाइ छ।

दुर्घटनामा उद्धार कार्य जारी छ। हालसम्म ३२ जनाको शव निकालिएको छ। विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए। तीमध्ये ११ जना विदेशी नागरिक र ३ जना बालबालिका रहेको खुलेको छ।

काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको हो।

काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको यती एयरलाइन्सको दुर्घटनामा परेको हो। जहाजको लगभग ८० प्रतिशत जलेकाले कोही जीवित भेटिने सम्भावना नरहेको बताइन्छ।

जहाज पाइलट कमल केसीले उडाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *