नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय महाधिवेशन जेठ दोस्रो साता

नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)को सातौं राष्ट्रिय महाधिवेशन आगामी जेठ दोस्रो साता हुने भएको छ। एनटीयूसीको गत पुस २९ र ३० गते बसेको राष्ट्रिय समितिको बैठकले २०८० साल जेठ १२ देखि १४ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी युवा र महिलाहरूलाई नेतृत्वमा ल्याई नेपालको मजदुर आन्दोलनलाई अझै सशक्त बनाउने गरी महाधिवेशनमा जाने निर्णय गरिएको एनटीयूसीका अध्यक्ष पुष्कर आचार्यले बताए। महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउनका लागि अध्यक्ष आचार्यको नेतृत्वमा एनटीयूसी राष्ट्रिय समितिको सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, प्रदेश अध्यक्षहरू, युवा तथा महिला समितिका अध्यक्षहरू, जिल्ला अध्यक्षहरूसमेत रहने गरी महाधिवेशनको मूल तयारी समिति समेत गठन गरिएको छ।

त्यसैगरी महासचिव योगेन्द्रकुमार कुँवरको संयोजकत्वमा महाधिवेशन प्रतिनिधि, सदस्यता तथा शुल्क छानबिन समितिसमेत गठन गरिएको छ। महाधिवेशनको कार्यतालिकाअनुसार सदस्यता वितरण तथा नवीकरणको काम फागुन मसान्तभित्र सम्पन्न गर्ने, चैत्र मसान्तभित्र जिल्ला, प्रदेशको अधिवेशन सम्पन्न गर्ने र २०८० साल वैशाख २१ गतेसम्म राष्ट्रिय महाधिवेशन प्रतिनिधि विवरणलगायतका सम्पूर्ण विवरण अद्यावधिक गरिनेछ।

अध्यक्ष आचार्यले महाधिवेशनमा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न आवश्यक रणनीति तय गर्ने पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *