प्रविधि र पहुँचमा विस्तार र सुधार जरुरी : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताएकी छन्। मंगलबार नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाल टेलिभिजनले आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लानुपर्ने चुनौती रहेको बताएकी हुन्।

उनले उपलब्ध साधन, स्रोत र जनशक्तिको परिचालन गरी व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताइन्। टेलिभिजनलाई आधारभूत जनताले महसुस गर्ने गरी योजनाहरू तय गर्न पनि उनले आग्रह गरिन्।

सञ्चारमन्त्री शर्माले गणतन्त्रको संवर्द्धन, राष्ट्रिय हितको प्रवर्द्धन, संवैधानिक सर्वोच्चता, विधिको शासन र सामाजिक न्यायको विषयलाई आत्मसात गर्दै प्रसारणको विषयवस्तु बनाउनुपर्नेमा जोड दिइन्। त्यस्तै प्रविधि र पहुँचमा पनि विस्तार र सुधार गर्दै लानुपर्ने उनले बताइन्।

मन्त्री शर्माले नेपाल टेलिभिजनको विकास, क्षमता अभिवृद्धि तथा कर्मचारीहरुको सेवा, सुविधा र वृत्ति विकासप्रति मन्त्रालय सकारात्मक रहेको बताइन्। उनले टेलिभिजनका कर्मचारीहरूले आफ्नो कर्मथलोप्रति सधैं इमानदार र प्रतिवद्ध भई काम गर्ने विश्वास व्यक्त गरिन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *