माओवादी सचिव भन्छन्- ‘सर्वोच्चको पूर्णपाठ नआएसम्म गृहमन्त्रीको नियुक्ति हुँदैन’

प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नआएसम्म नयाँ गृहमन्त्री नियुक्त नगर्ने भएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टी सचिव गणेश साहले सभापति लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको पूर्ण पाठ नआउँदासम्म गृहमन्त्री नियुक्तिका बारेमा निर्णय नहुने बताएका हुन्।

उनले त्यस बेलासम्म गृह मन्त्रालय प्रधानमन्त्री दाहालले आफूसँगै राख्ने स्पष्ट पारे। रवि लामिछाने गैरसांसद भइसकेको अवस्थामा उनलाई मन्त्री बनाउँदा अन्य गैरसांसदहरूले पनि मन्त्री बन्ने आकांक्षा राख्ने भन्दै उनले प्रधानमन्त्रीले सर्वोच्च अदालतको पूर्ण पाठको प्रतिक्षा गर्ने बताए।

सचिव साहले माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोजेको बताउनु भयो । उहाँले संविधानको मर्म र भावनालाई पूरा गर्ने विश्वसनीय व्यक्तिलाई राष्ट्रपति बनाउन पार्टीले क्रियाशिलता अगाडी बढाएको स्पष्ट पारे।

पदाधिकारी बैठकमा नेताहरूले कार्यविभाजन गर्दै तीन महिने कार्यक्रम लिएर जानुपर्ने सुझाव दिएका जानकारी दिए। माओवादी केन्द्रले बुधबार दिउँसो १ बजे स्थायी कमिटीको बैठक बोलाएको छ। स्थायी कमिटीको बैठकले पार्टी संगठनका सम्बन्धमा ठोस निर्णय गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *