बालाजु वृत्तका डीएसपी उपत्यका तानिए, कुँवरलाई जिम्मेवारी दिइयो

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बालाजु क्षेत्रमा सोमबार भएको आगजनी र लुटपाटको घटनामा उचित सुरक्षा व्यवस्थापन गर्न नसकेका महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डीएसपी रविन विष्टलाई फिर्ता बोलाएको छ।

उनको स्थानमा त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थल,काठमाडौंमा रहेका डीएसपी मनोजित कुँवरलाई पठाइएको छ।

उपत्यका प्रहरीका प्रवक्ता एसएसपी हिमालयकुमार श्रेष्ठले वृत्त प्रमुख परिवर्तन भएको पुष्टि गरेका छन्। उनले पर्दाफाससँग भने, ‘डीएसपी विष्टलाई भ्यालीमा बोलाएर, एयरपोर्टका कुँवरलाई बालाजु वृत्त पठाउने निर्णय भएको छ।’

सोमबार सवारी साधन कारबाही गरेबापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै यातायात मजदुर आन्दोलनमा उत्रेका थिए। आन्दोलनका कारण सोमबार साँझसम्मै बालाजु-नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको थियो। सवारी जरिवानाबापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एण्ड ड्रपको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर सोमबार दिउँसोदेखि गरेको आन्दोलनले साँझ उग्ररुप लिँदा बालाजु-नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको थियो।

नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनलगायतको नेतृत्वमा नयाँ बसपार्क, माछापोखरी, बालाजुलगायतका स्थानमा सार्वजनिक बस बाटोमा तेर्स्याएर आन्दोलन गरिएको थियो। नयाँ बसपार्कदेखि गोंगबु चोकसम्मको मुख्य सडकबाट सञ्चालन हुँदै आएका बस तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न काठमाडौं महानगरपालिकासहित सम्बन्धित संस्थाले आग्रह गरे पनि त्यस क्षेत्रका व्यवसायी भने पुरानै स्थानबाट सञ्चालन गर्न पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रेका थिए।

त्यस क्रममा प्रहरीमाथि ढुंगा प्रहार गर्नेदेखि प्रहरीको गाडी आगजानी गर्नेसम्मका घटना भएको थियो। आन्दोलनकारीले बालाजु चोकमा रहेको अस्थायी प्रहरी बिट जलाउनुका साथै प्रहरीको एउटा गाडीमा आगो लगाएका थिए र अर्को एउटा तोडफोड गरेका थिए। साथै बेलुकीपख मानिसहरूको भीडले नयाँबसपार्क क्षेत्रभित्र रहेको ल्होत्से मलमा तोडफोड गर्दै मोबाइल पसलमा लुटपाट गरेको थियो। व्यसायीहरूले कम्तीमा ८ कराेड रुपैयाँ बराबरकाे माेबाइल लुटिएकाे दाबी गरेका छन्।

त्यति ठूलाे घटना भइरहँदा पनि प्रहरीले उचित सुरक्षाा व्यवस्थापन गर्न नसकेकाे भन्दै प्रश्न उठेकाे थियाे।

यातायात मजदुरहरूले मंगलबारदेखि उपत्यकाभित्र सार्वजनिक यातायात बन्दकाे घाेषणासमेत गरेका थिए। बिहान सरकारसँगकाे वार्तापछि आन्दोलन फिर्ता गर्न उनीहरू सहमत भएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर