१ नम्बर प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ। कार्यालयको हाताभित्र आयोजित एक विशेष कार्यक्रमका बीच १ नम्बर प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन्।

नवनिर्मित भवनको उद्घाटन र भवनको निरीक्षणपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भौतिक पुर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरूमा प्रत्यक्ष असर पर्ने बताउँदै सुविधासम्पन्न भवन प्राप्त भएसँगै नागरिक सेवामा विगतका दिनहरूभन्दा प्रभावकारी ढंगले अगाडि बढ्न नवनिर्मित भवनको योगदान रहने बताए।

यसका साथै उनले सुरक्षाकर्मी सुरक्षित भएमा मात्र आम नागरिकले सुरक्षाको प्रत्याभूति पाउने हुँदा सुरक्षाकर्मीको सुरक्षामा प्रदेश सरकार सदैव तत्पर रहेको समेत बताए।

कार्यक्रममा प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउँदै प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरूमा थप मनोबल उच्च हुनुका साथै प्रदेश प्रहरी कार्यालयबाट आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरीय हुँदै जाने धारणा राखे। यसका साथै वनले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरूले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जनचाहनाबमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले सुविधासम्पन्न भौतिक सुविधाले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकूल वातावरण सिर्जना गर्ने बताउँदै सुविधासम्पन्न भवन प्राप्त भएसँगै थप जोश र ऊर्जाका साथ प्रहरी कामकारबाही गर्न प्रेरणा मिलेको बताए।

उक्त कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भवन निर्माणमा उल्लेख्य योगदान पुर्‍याउने निर्माण कम्पनी तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र महेश भट्टराईलाई प्रशंसापत्रले सम्मान गरेका थिए।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले मुख्यमन्त्री कार्कीलाई मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनिल रानाले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

१ नं. प्रदेश आन्तारिक मामिला तथा कानून मन्त्रालयबाट बजेट विनियोजित भई कुल १९ करोड १४ लाख १ हजार ६६३ रुपैयाँको लागतमा सानाठूला गरी ७५ वटा कोठा भएको ५ तले कार्यालय भवन निर्माण सम्पन्न भएको हो।

कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू , प्रदेश सरकारका मन्त्रीहरू, निमित्त प्रदेश प्रमुख सचिव किशोरकुमार चौधरी, स्थानीय जनप्रतिनिधिहरू, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, पूर्वप्रहरी कर्मचारीहरू, सञ्चारकर्मीहरू, उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर