बालेनलाई चिरीबाबुले भने- उपत्यकामा मेट्रोरेलको विकल्प छैन, नेतृत्व लिनुस्

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाका लागि मेट्रोरेल निर्विकल्प भएको बताउँदै काठमाडौं महानगरलाई यसको नेतृत्व लिन अनुरोध गरेका छन् ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई भेट्न काठमाडौं महानगर कार्यालय पुगेका महर्जनले संघीय सरकारसँग सहकार्य गर्दै काठमाडौं महानगरले मेट्रोरेलका लागि लिने नेतृत्वको ललितपुर महानगर सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘उपत्यकाका दुई महानगरबीच समन्वय र सहकार्य भए ठूला योजना सम्पन्न गर्न सक्छौं । ललितपुर काठमाडौंको सहयात्री बन्छ । काठमाडौं महानगरले यसको नेतृत्व गर्नुपर्छ ।’

नगर प्रमुख महर्जनले उपत्यकाका अन्य नगरपालिकासँगको हातेमालो अपरिहार्य भएको पनि बताए । मेट्रोरेलको विकल्प खोज्नु अब समय र स्रोत साधनको दुरुपयोग मात्र ठहरिने महानगर प्रमुख महर्जनको भनाइ छ ।

‘धेरै खर्च लाग्छ, धेरै समय लाग्छ भनेर मेट्रो रेलका बारेमा निर्णय नगर्नु कीमार्थ ठीक हुँदैन,’ उनले भने, ‘काठमाडौं उपत्यकालाई बस्न योग्य शहर बनाउनका लागि मेट्रो रेल नल्याई सुखै छैन ।’

उनले मेट्रोरेलका बारेमा निर्णय गर्न अब ढिला गर्न नहुने बताउँदै बेलैमा निर्णय नगरे उपत्यका बस्न अयोग्य शहर बन्ने दाबी गरे ।
काठमाडौं महानगर प्रमुख शाहले मेट्रोरेल उपत्यकाका लागि अत्यावश्यक भएको बताउँदै अन्य नगरपालिकासँग मेट्रोरेलका सन्दर्भमा अब योजनाबद्ध रूपमा छलफल सुरु गर्ने बताए । उनले भने, ‘अब मेट्रोरेलका बारेमा अन्य नगरपालिका र सरोकारवाला निकायसँगको छलफल सुरु गरौं ।’

काठमाडौं महानगरले पनि मेट्रोरेलका बारेमा अनौपचारिक रूपमा सोधखोज गरिरहेको शाहले बताए । उपत्यकालाई बस्न योग्य शहर बनाउन मेट्रोरेल अत्यावश्यक भएको प्रस्ट पार्दै यो दीर्घकालीन योजनाले उपत्यकावासीको जीवनस्तर उन्नत हुने उनले बताए ।

उनले भने, ‘योजना बनाउँदा कम्तीमा ५० वर्षको योजना बनाउनुपर्छ, राम्रो त एक सय वर्षलाई सोचेर बनाउनु राम्रो हो । दुई/चार वर्षे योजनाले दीर्घकालीन प्रभाव पार्दैन र नागरिकलाई खुशी र सुख दिन सक्दैन ।’

उपत्यकालाई बस्न योग्य शहर बनाउन मेट्रोरेल ल्याउनैपर्ने ललितपुर महानगरका सल्लाहकार इन्जिनियर वदन न्याछ्योँले बताए । उनले भने, ‘उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न तत्काल काम सुरु नगर्ने हो भने अबको पाँच वर्षपछि ट्राफिक जामले निम्त्याउने समस्या विकराल हुन्छ । उपत्यका गतिहीन शहरमा परिणत हुने कुरा निश्चित छ ।’ न्याछ्योँले २० वर्षदेखि मेट्रोेरेलको आवश्यकता र यसले उपत्यकावासीलाई कसरी समृद्ध बनाउँछ भन्ने सन्दर्भमा पैरवी गर्दै आएका छन् ।

एक तथ्यांकअनुसार ट्राफिक जाममा बित्ने उत्पादक समयको ह्रासले वार्षिक करिब रु १.६२ खर्बको नोक्सान भएको अनुमान छ । यो तथ्यांक नेपालको गार्हस्थ उत्पादनको लगभग ५.६ हुन आउँछ । उपत्यकाको वातावरण सुधारसहित व्यवस्थित सहर निर्माणका लागि मेट्रोरेलसहितको एकीकृत यातायात व्यवस्थापनसहित मेट्रोरेल अबको आवश्यकता भएको इन्जिनियर वदनलालको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *