ग्रामीण नाबालिकाहरूलाई काठमाडौं बोलाएर यौनशोषण गर्ने चिनियाँ नागरिक पक्राउ

बाल यौनशोषणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका-२२ बुङमतीमा कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी सञ्चालन गरी बस्दै आएका चिनियाँ नागरिक ४९ वर्षीय याङ ली मिङ पक्राउ परेका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई शनिबार पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाका अनुसार उनले फेसबुकमार्फत कलिला उमेरका नाबालिकाहरूसँग चिनजान गरी कुराकानीका क्रममा विभिन्न प्रलोभन देखाएर काठमाडौं बोलाउने गरेका थिए।

काठमाडौंसम्म आउनका लागि उनले गाडी भाडासमेत दिने गरेका थिए। नाबालिकाहरू काठमाडौं आइसकेपछि विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू (क्लब, डिस्को तथा रेस्टुरेन्टमा लग्ने) मा संलग्न गराउनुका साथै आर्थिक तथा अन्य प्रलोभन देखाई यौनशोषण गर्ने गरेका थिए।

सीआईबीले १४ देखि १७ वर्षका ६ जना नाबालिकहरूमध्ये २ जनालाई बुङमतीस्थित उनको आफ्नै अपार्टमेन्टमा लगेर यौनशोषण गरेको सूचना पाएपछि उनलाई पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धानका क्रममा अन्य ४ जना नाबालिकाहरूलाई समेत ठमेलस्थित एक होटलमा ललाइफकाइ राखेको खुलेपछि ती बालिकाहरूको प्रहरीले उद्धार गरेको छ। ती बालिकाहरूलाई सामाजिक संस्थाको संरक्षणमा राखिएको छ।

पक्राउ परेका चिनियाँ नागरिकलाई सीआईबीले आवश्यक कानूनी कारबाहीका ललितपुर प्रहरीको जिम्मा लगाएकोमा उनीविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर ललितपरका डीएसपी प्रवीण पोखरेलले जानकारी दिए।

पक्राउ परेका चिनियाँ नागरिकले लामो समयदेखि यसैगरी नाबालिकाहरूलाई प्रलोभनमा पार्ने कोसिस गरेको देखिएको प्रहरीले जनाएको छ।

उनको प्रलोभनमा फसेकाहरूमध्ये झापाको मेचीनगर नगरपालिका–११ की १३ वर्षीया एक किशोरी बिहीबार दिउँसो आफू अध्ययनरत स्कुलमा साथीहरूसँग बिदा मागेर काठमाडौं आएको खुलेको छ।

ती किशोरी पढ्ने स्कुलका एक शिक्षकका अनुसार काठमाडौं आउनुअघि उनले आफ्ना साथीहरूसँग ‘चिनियाँ अंकलले काठमाडौं बोलानुभएकाले त्यतै जान लागेको’ भनेको थिइन्। ती शिक्षकका अनुसार किशोरीले अरू साथीहरूलाई पनि काठमाडौं गए धेरै पैसा पाइने बताएकी थिइन्।

कक्षा ६ मा अध्ययनरत उनले अरू कक्षाका समेत गरी १० देखि १२ जनालाई आफूसँगै जान प्रस्ताव गरेकी थिइन्।

‘त्यसबारे कसैलाई नभन्नु भन्दै बुबाको कसम पनि खुवाएको रै’छिन्, अंकलले काम दिनुहुन्छ भन्दै प्रलोभन देखाएको खुलेको छ’, ती शिक्षक भन्छन्, ‘चिनियाँ नागरिकले पूरै ब्रेनवास नै गरेका रहेछन् ।’

अन्य किशोरीहरू पनि यसैगरी प्रलोभनमा परेर काठमाडौं आउने गरेको खुलेको छ। पक्राउ परेका चिनियाँले किशोरीहरूलाई काठमाडौं आउनुअघि नै पैसा दिँदै आफ्नो प्रभवमा पार्ने गरेको पाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर