नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र छ, डेटाहरू टर्कीसम्म पुग्ने गरेको छ : आरजु राणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छिन् ।

मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली सेनाको डेटाहरु टर्की पुग्ने गरेको जानकारी आफूले पाएको बताइन् ।

‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले सुरु त गर्‍याैं, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो । जर्साबहरूको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ,’ उनले भनिन्, ‘त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने ? रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो । साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ । सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरुले यसमा अनुसन्धान गर्नुपर्छ ।’

नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुन्जेल नेपालको सुरक्षा लगायतका सबैखाले तथ्यांकहरु चोरी हुने खतरा रहेको उनले बताइन् ।

नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले नेविसंघको अबको एजेण्डा शैक्षिक, सामाजिक, युवाहरुलाई उद्यमशील बनाउने, नेपालमै युवाहरुलाई टिकाउने र जलवायु परिवर्तनको एजेण्डामा केन्द्रित रहेको बताए ।

पुल्चोक क्याम्पसका विद्यार्थी अस्मित तिमल्सिनाले नेविसंघले विद्यार्थीहरुको प्रोग्रामिङ स्किलबाट नेपालमा भइरहेको सामाजिक समस्याको समाधान गर्न कार्यक्रम अल नेपाल ह्याकथन कार्यक्रम आयोजना गरेको बताइन् ।

नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिले आयोजना गरेको अल नेपाल ह्याकथन कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रोग्रामिङ स्किलबाट समाजका समस्याहरु समाधान गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *