राज्यका निकायमा महिलाको सहभागिता सुनिश्चित हुँदै गएको छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संविधानसभाबाट जारी नेपालको संविधानले व्यवस्था गरेको प्रावधानका कारण राज्यका प्रमुख अङ्गमा महिला सहभागिता सुनिश्चित हुँदै गएको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले संवैधानिक प्रावधानले कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधि कानून बनाउने तहसम्म पुगेको उल्लेख गरे ।

सभामुख घिमिरेले महिला अधिकारका लागि अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै आर्थिक उन्नतिका लागि प्राकृतिक स्रोतसाधनको दिगो व्यवस्थापन र परिचालन गर्नुपर्नेमा जोड दिए । उनले वन, वातावरण संरक्षण र संवर्द्धनका लागि अभाव भएका कानून बनाउन, भएका कानून कार्यान्वयन गर्न र यस क्षेत्रमा देखापरेका चुनौतीको सामना गर्न सम्बन्धित सबैले आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा महासङ्घका अध्यक्ष भारती पाठकले महासङ्घले महिलाको नेतृत्व विकासका लागि ठूलो भूमिका खेलेको बताउँदै आगामी दिनमा महिलाको आर्थिक आत्मनिर्भरताका क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता औँल्याए । महासङ्घका महासचिव विर्षबहादुर शाही, सचिव ठाकुर भण्डारी, कार्यकारी निर्देशक डा. सीता अर्यालले महासङ्घका गतिविधिमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा महासङ्घमा विगतमा रहेर काम गरेका हाल प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सदस्यलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर