अर्थतन्त्र सुधारोन्मुख छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउन ध्यान दिइरहेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउने भन्नेतर्फ सरकारले ध्यान दिइरहेको बताएका हुन्।

उनले देशमा १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने वैदेशिक सञ्चिति रहेको भन्दै संकटमा रहेको अर्थतन्त्र सुधारतर्फ गइरहेको बताए। उनले अनावश्यक खालका चालु प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीव्रता दिने सरकारको प्राथमिकता रहेको उल्लेख गरे।

त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरूका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्नेतर्फ पनि सरकारको ध्यान रहेको उनले बताए। प्रधानमन्त्री दाहालले बैंकको ब्याजदरलाई घटाउन पनि सरोकारवाला निकायसँग छलफल गरी आवश्यक निर्देशन दिएको बताए।

प्रधानमन्त्री दाहालले सार्वजनिक खरिदसम्बन्धी कानून संशोधन गर्दा निर्माण व्यवसायीहरूको सहभागितालाई समेत सुनिश्चित गर्ने बताए। उनले सो कानून संशोधन गर्दा अन्य सरोकारवालालाई समेत समेट्ने बताए।

प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीप्रति जनताको धेरै गुनासो रहेको भन्दै त्यसप्रति सरकार जानकार रहेको बताए। निर्माण व्यवसायीहरूले जिम्मा लिएका कामहरू जिम्मेवार र गम्भीर भएर काम गर्नुपर्ने उनले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर