ओलीको आरोप- माओवादीले मानव अधिकार आयोगलाई धम्क्याउने काम गरिरहेको छ

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाएका छन् ।

माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताए ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले मानव अधिकारको रक्षाका लागि लड्न पार्टी निकट मानव अधिकार एलाइन्सलाई निर्देशन पनि दिए ।

अध्यक्ष ओलीले मानव अधिकारको पक्षमा उभिन सक्ने र रक्षा गर्न सक्ने काममा इमानदार र समर्पित भएर लाग्न पनि सो एलाइन्सलाई सचेत गराए ।

उनले भने,‘मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन् । तर्साउँछन्, धम्क्याउँछन् । हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन् । हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन् । हाम्रो बन्दुकको कार्तुस अझै पनि ओसिएको छैन भन्छन् । हाम्रा पाखुरा लाठी चलाउन नसक्ने भएका छैनन् भन्न सक्छन् । खुट्टा याद राख्नुस् भन्न सक्छन् । यो हुँदैन भन्न सकिँदैन । त्यसकारण हाम्रो एलाईन्स आफैंमा मानव अधिकारप्रति समर्पित, इमानदार हुनु पर्दछ । मानव अधिकारप्रति उभिन सक्ने, बोल्न सक्ने, त्यसका रक्षाका निम्ति लडन सक्ने त्यो हुनु पर्दछ । एक्लै भयो भने फाँसी दिन सक्छन् ।’

अध्यक्ष ओलीले नेपालमा मानव अधिकार उलंघनकर्ताहरूले नै बढी मानव अधिकारको कुरा गर्ने गरेको भन्दै त्यसबाट सचेत रहनुपर्ने जरुरी रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर