रवि लामिछानेका गाडी चालक घरको तीन तलामाथिबाट खसेर गम्भीर घाइते

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् आसन्न वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन क्षेत्र नं. २ का उम्मेदवार रवि लामिछानेको घरको छतबाट खसेर उनका निजी गाडी चालक गम्भीर घाइते भएका छन्।

सोमबार बिहान ४ बजेतिर चितवनको भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेर उनका निजी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा घाइते भएका हुन्।

उनको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए।

प्रहरीका अनुसार तनहुँमा चुनावी प्रचारप्रसार सकेर लामीछानेसहितको टोली आइतबार बेलुका चितवन पुगेका थिए।

लामिछाने सो घरको भुईँ तलामा सुतेका थिए। दोस्रो तलामा दीपक बोहरालगायत सुतेका थिए।

तेस्रो तलामा पार्टीका प्रवक्ता मुकुल ढकाल, उनका सवारी चालक र लामिछानेका सवारी चालक दिलबहादुर सुतेका थिए। दिलबहादुर बिहान छतबाट खसेको अवस्थामा भेटिएका हुन्।

गम्भीर घाइते भएका दिलबहादुरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *