वैधानिकता र जनताप्रतिको वफादारी सैनिक कारबाहीको सफलताको आधार : बलाध्यक्ष रथी खड्का

नेपाली सेनाका बलाध्यक्ष रथी सीताराम खड्काले वैधानिकता र जनताप्रतिको वफादारी नै सैनिक कारबाहीको सफलताको आधार रहेको बताएका छन्।

सोमबार शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं.३० कमाण्ड तथा स्टाफ तालिमको उद्घाटन गर्दै बलाध्यक्ष रथी खड्काले सो कुरा बताएका हुन्। उनले तालिममा सहभागी शिक्षार्थीहरूले सदैव यस वास्तविकतालाई मनन् गर्ने विश्वास पनि व्यक्त गरे।

बलाध्यक्ष रथी खड्काले तालिममा सरिक सम्पूर्ण स्वदेशी तथा विदेशी शिक्षार्थीहरूलाई सफलतापूर्वक तालिम सम्पन्न गर्न शुभकामना दिए। उनले प्रविधिको विकाससँगै विविध क्षेत्रहरूमा भइरहेको तीव्र एवं व्यापक परिवर्तनले सुरक्षा चुनौतीमा वृद्धि भएको बताए।

साथै आर्टिफिसियल इन्टेलिजेन्स तथा विभिन्न उपकरणहरूको प्रयोगले साइबर स्पेसमा थपिएका चुनौतीरूको बारेमा स्मरण गराउँदै त्यस्ता चुनौतीहरूको सामना गर्न तयार रहनुपर्ने बताए।

उनले नेपालको आन्तरिक परिस्थिति, क्षेत्रीय अवस्था एवं वर्तमान विश्व परिवेशलाई दृष्टिगत गर्दा सैनिक कारबाही एवं सैनिक कलाको उपयोगिता शान्ति, स्थिरता तथा मानव हितमा केन्द्रित रहनुपर्ने आवश्यकता रहेको बताए। उनले तालिममा सहभागी स्वदेशी तथा विदेशी शिक्षार्थीहरूलाई भविष्यमा आइपर्न सक्ने जस्तोसुकै चुनौती सामना गर्न सक्ने ढंगले आफूलाई तयार पार्ने गरी तालिम अवधिको सदुपयोग गर्न सुझाव दिए।

कार्यक्रममा कलेजका शिक्षाधिकृत उपरथी सन्तोषकुमार ढकालले सैनिक कमाण्ड तथा स्टाफ तालिमको महत्त्वका बारेमा प्रकाश पारे। परम्परागत सैनिक कारबाहीलगायत सेनाले निर्वाह गर्नुपर्ने बहुआयामिक जिम्मेवारीका लागि योजना तथा कार्यान्वयन गर्न सक्षम स्टाफ अधिकृतहरू तयार गर्ने ढंगले तालिममा विविध विषयवस्तुहरू समेटिएको उपरथी ढकालले बताए।

मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण यस तालिममा नेपाली सेनाका तर्फबाट महिला अधिकृत १ जनासहित ५३ अधिकृतहरूलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ गरी ३ जना अधिकृतहरू, भारत, पाकिस्तान, केन्या, कोरिया, माल्दिभ्स र नाइजेरिया १/१ जना गरी ६ विदेशी शिक्षार्थी अधिकृतसहित जम्मा ६२ जना अधिकृतहरू सहभागी छन्।

वि.सं. २०४९ पौष १४ गते स्थापना भएको सैनिक कमाण्ड तथा स्टाफ कलेजले वि.सं. २०५० भाद्र २० गते १२ जना शिक्षार्थी अधिकृतहरू समावेश गरी पहिलो पटक कमाण्ड तथा स्टाफ तालिम थालनी गरेको थियो। सन् २०१० बाट विदेशी शिक्षार्थीहरू सहभागी गराइएको यस तालिमबाट हालसम्म नेपाली सेनाका ११२०, नेपाल प्रहरीका १४, सशस्त्र प्रहरी बल, नेपालका २६, राष्ट्रिय अनुसन्धान विभागका १७, रक्षा मन्त्रालयका १ र विदेशी १०८ गरी जम्मा १,२८६ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भइसकेका छन्।

कार्यक्रममा, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक, नेपाली सेनाका रथीहरू, कलेजका पूर्वकमाण्डाण्टहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन, प्राध्यापकहरू, त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक, रक्षा मन्त्रालयका सहसचिव, विभिन्न राष्ट्रका सैनिक सहचारीहरू, विदेशी शिक्षार्थीहरूका सामुदायिक प्रायोजकहरूलगायत शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *