फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

फ्लाई दुबईमा चरा ठोक्किएको भनी भ्रमपूर्ण समाचार फैलाएको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईका कन्ट्री म्यानेजर र विमानस्थल म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ। प्राधिकरणले उनीहरूको विमानस्थल पाससमेत निष्क्रिय पारिएको जानकारी दिएको छ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाइ दुबईको एफडीजेड ५७६ (बी७३७-८००) नम्बरको विमानमा प्राविधिक समस्या आएर आगलागीसमेत भएको थियो। सुरुवातमा विमानलाई त्रिभुवन विमानस्थलमा नै अवतरण गराउने तयारी गरिए पनि पाइलटले केही बेर नेपाली आकाशमा होल्ड गराई प्राविधिक समस्या हटेपछि गन्तव्यतर्फ नै लगेका थिए।

काठमाडौं-दुबई उडानको उक्त विमानमा प्राविधिक समस्या देखिएको विमानस्थलको एटीसीले जनाएको थियो । तर, फ्लाई दुबईले भने चरा ठोक्किएका कारण समस्या देखिएको र ठीक भएपछि गन्तव्यतर्फ लागेको स्पष्टीकरण दिएको छ । यस विषयमा अनुसन्धान थालेको प्राधिकरणले कम्पनीका कर्मचारीलाई कारबाही गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट गए राति ९ः२० बजे उड्नेबितिक्कै फ्लाई दुबईको जहाजमा विस्फोटको आवाज सुनिनुका साथै इन्जिनमा आगोको लप्का देखिएको थियो।

जहाजका पाइलटले काठमाडौं विमानस्थलको टावरलाई ‘आफ्नो जहाजको बायाँ इन्जिनमा आगलागी भएको’ जानकारी दिएका थिए । उनीहरूले टावरका एटीसीलाई जहाज एउटा इन्जिनको भरमा उचाइमा चढिरहेको तर आकस्मिक अवतरण गर्न काठमाडौंमै फर्किने बताए पनि पछि उक्त जहाज दुबई नै गएको थियो। दुबईमा सो जहाज सुरक्षित अवतरण गरेको छ।

नेपाली समयअनुसार राति दुई बजे (स्थानीय समयअनुसार १२ बजेर ११ मिनेटमा) उक्त जहाजले दुबईमा सफल अवतरण गरेको हो।

सोमबार राति नै फ्लाई दुबईले दुबईबाट ‘चरासँग जहाज ठोकिएको’ जनाएको थियो। दुबई सरकारको मिडिया कार्यालयले जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्नेबित्तिकै चरा ठोक्किएको दाबी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर