सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन्।

सभापति लामिछानेले शुक्रबार सांसदको शपथ ग्रहण गरेसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका हुन्।

उनले आफूहरूलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताहरूले मत दिएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गर्ने विषय सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटाएकाले आफूहरूको आपत्ति रहेको बताए। उनले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भीर समिक्षा गरेर मात्रै अगाडि बढ्ने स्पष्ट पारे।

उनले भने, ‘हामीले आम नागरिकसँग भोट मागिरहँदा हाम्रो सबैभन्दा महत्त्वपूर्ण विषय र हामीलाई सबैभन्दा बढी आम नागरिकले भोट दिएको हामीलाई लागेको विषय भनेको मुलुकको भ्रष्टाचारको अन्त्यको विषय हो। जसमा हामीले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्छ भनेका थियौं। त्यो नै न्यूनतम साझा कार्यक्रमबाट सरकारले हटायो। त्यसमा हाम्रो गम्भीरभन्दा पनि गम्भीर आपत्ति छ। किनभने मतदाताले हामीलाई केही थान मान्छेलाई संसदमा पठाएको होइन। निश्चित एजेण्डासहित एउटा म्याण्डेट दिएर पठाएको हो। जुन वाचा गरेर हामी आएका थियौं, अझ निर्मम हुनुपर्ने कुरालाई भएको पनि हटाएको कुरामा हाम्रो गम्भीर आपत्ति छ। यसमा गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढ्छौं।’

उनले आफूहरूले मुलुकमा अस्थिरता नहोस् भन्ने चाहेको भए पनि सरकारलाई दिएको समर्थनबारे पुनः मूल्यांकन गर्नुपर्ने अवस्था रहेको बताए।

शुक्रबार सभामुख देवराज घिमिरेले चितवन-२ बाट निर्वाचित रास्वपा सभापति लामिछाने र रास्वपाबाटै तनहुँ-१ बाट निर्वाचित स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *